+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

माथिल्लो मुस्ताङमा बाढीको कहर: ६ वटा पुलमा क्षति, जनजीवन प्रभावित

अत्रिदेव खबर
२०८२ अषाढ २५, बुधबार

मुस्ताङ : मङ्गलबार साँझ उपल्लो मुस्ताङमा आएको लेदोसहितको भीषण बाढीले छवटा पुलमा क्षति पुर्‍याएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङले दिएको जानकारीअनुसार यस प्राकृतिक विपद्ले यस क्षेत्रको जनजीवनमा गहिरो प्रभाव पारेको छ।

नेपाल-चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका-४ छोसेरस्थित चुम्जुङ खोलामा करिब तीन घण्टासम्म आएको बाढीले ठूलो विनाश निम्त्याएको हो। बाढीको तीव्र बहावले लोमान्थाङ-४ स्थित चुम्जुङ खोलामा रहेको एउटा पुल र लोमान्थाङ-२ साम्जुङस्थित निर्माणाधीन अर्को एउटा गरी दुई वटा पक्की मोटरेबल पुलमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। यति मात्र होइन, बाढीले त्यस क्षेत्रमा रहेको एउटा फलामे पुल र तीन वटा काठेपुल पनि बगाएर क्षति पुर्‍याएको छ, जसले गर्दा आवागमनमा थप कठिनाइ भएको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार बाढीका कारण जोखिममा रहेको खोलाको बीचमा सञ्चालनमा रहेको एउटा होटल र लोमन्थाङ-४ स्थित करिब चार सय मिटर दुरीमा रहेको न्याम्डो गाउँका दुई वटा घरका नागरिकहरूलाई सुरक्षित स्थानमा सारिएको छ। खुशीको कुरा, यस बाढीबाट मानवीय तथा पशुचौपायामा कुनै क्षति नभएको उनले बताए।हाल बाढीको सतह केही मत्थर हुँदै गए पनि खतरा भने टरेको छैन। त्यस क्षेत्रको सुरक्षा सावधानीका लागि इलाका प्रहरी कार्यालय छोेसेरबाट प्रहरी सहायक निरीक्षक र छोसेरस्थित सशस्त्र प्रहरी बल (बीओपी) नेचुङबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा नौ जनाको टोली खटिएको छ।

खटिएका सुरक्षाकर्मीहरूले स्थानीयलाई हुन सक्ने खतराका बारेमा सूचित गरिरहेका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङले बाढीको बहाव कम भइसकेको भए पनि सम्भावित जोखिमको खतरा कायमै रहेकाले स्थानीयलाई आवश्यक सर्तकता अपनाउन अनुरोध गरेको छ।

२०८२ अषाढ २५, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ अषाढ २५, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ