धनगढी : कैलाली जिल्लामा आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण धनगढी उपमहानगरपालिका लगायत आसपासका क्षेत्र जलमग्न भएका छन्। महाकाली बेसिन फिल्ड कार्यालय, अत्तरियाका अनुसार सोमबार बिहान ८:४५ बजेसम्म २१२.२ मिलिमिटर वर्षा मापन गरिएको छ, जसलाई भारी वर्षा मानिएको छ।
वर्षाका कारण धनगढी उपमहानगरपालिकाको पार्क मोड, रातो पुल लगायतका मुख्य क्षेत्रहरूमा पानी भरिएको छ। यसले जनजीवन प्रभावित भएको छ। धनगढीसँग जोडिएको मोहना नदीमा पानीको सतह बढेकाले नदी आसपासका क्षेत्रहरूमा सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिवराज जोशीले धनगढी, गोदावरी, पुनर्वास र कञ्चनपुरको कृष्णपुर नगरपालिका क्षेत्रमा बढी वर्षा भएको जानकारी दिएका छन्। यद्यपि, वर्षाका कारण अहिलेसम्म कुनै पनि क्षतिको विवरण प्रशासनलाई प्राप्त नभएको उनले बताए। लगातारको वर्षाले तराईका जिल्लाहरूमा डुबानको जोखिम बढाएको छ। स्थानीय प्रशासनले विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गरिरहेको बताएको छ।
२०८२ अषाढ १६, सोमबार