गौरीगंगा : कैलालीको गौरीगंगा नगरपालिकामा विपन्न तथा बेरोजगार युवाहरूलाई लक्षित गरी सञ्चालित ४५ दिने ड्राइभिङ तालिम सफलतापूर्वक सम्पन्न भएको छ। सुनपाल सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा मनकामना ड्राइभिङ सेन्टरले आयोजना गरेको तालिमबाट २१ जना युवा र एक जना युवती गरी कुल २२ जनाले व्यावसायिक ड्राइभिङ सीप हासिल गरेका छन्।
तालिमका सहभागी हेमन्त बहादुर ताडीले तालिमले आफूहरूलाई आत्मनिर्भर बन्न, पेशागत रूपमा जिम्मेवार हुन र सडक सुरक्षाका साथै ट्राफिक नियमहरूको पालना गर्दै सवारीसाधन चलाउनका लागि आवश्यक ज्ञान तथा सीप प्रदान गरेको बताएका छन्। तालिम समापन कार्यक्रममा बोल्दै वरिष्ठ वन अधिकृत विश्वराज पण्डितले सामुदायिक वनले समुदायको आर्थिक, सामाजिक र वातावरणीय अवस्था सुदृढ पार्नका लागि जीविकोपार्जनका कार्यहरूमा जोड दिनुपर्ने आवश्यकता औंल्याए।
गौरीगंगा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष आशाराम डगौराले स्थानीय तहमा योजना छनोट गर्दा दबाब आउने तर काम गर्ने समयमा भने अपेक्षित सहभागिता नहुने परिपाटी रहेकोमा चिन्ता व्यक्त गरे। सामुदायिक वनका अध्यक्ष रामबहादुर सुनारले बेरोजगार युवापुस्तालाई स्वरोजगार बनाउने उद्देश्यले यस्ता सीपमूलक तालिमहरू सञ्चालन गरिएको जानकारी दिए।
मनकामना ड्राइभिङ सेन्टरका सञ्चालक नैनसिंह बिष्टको सभापतित्वमा सम्पन्न समापन कार्यक्रमको सञ्चालन हरि प्रसाद तिवारीले गरेका थिए। यस तालिमले सहभागीहरूलाई स्वरोजगार बन्ने अवसर प्रदान गर्नुका साथै सडक सुरक्षामा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
२०८२ अषाढ १३, शुक्रबार