काठमाडौं: निर्वाचन आयोगले आगामी कात्तिकको दोस्रो साता प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त दुई स्थानमा उपनिर्वाचन गर्ने तयारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका आयुक्तहरूले बिहीबार प्रधानमन्त्री निवास सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेटेर उपनिर्वाचनको मिति र राष्ट्रियसभाको रिक्त १८ स्थानका लागि हुने निर्वाचनबारे छलफल गरेका हुन्।
प्रतिनिधिसभाको रुपन्देही क्षेत्र नं. ३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं. १ (२) मा सदस्य पद रिक्त छन् भने स्थानीय तहका १३ वटा वडाध्यक्ष पद पनि रिक्त रहेका छन्। आयोगले असार १६ गतेभित्र सरकारको परामर्शमा उपनिर्वाचनको मिति तोक्ने तयारी गरेको छ।प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीमा सरकारका तर्फबाट पूर्ण सहयोग हुने विश्वास दिलाउँदै २०८४ को निर्वाचनका लागि पनि तयारी गर्दै रहन आयोगलाई सुझाव दिएका छन्।
२०८२ अषाढ ६, शुक्रबार