धरान : धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङको ‘श्रमदान’ अभियान अहिले सुशासन र विधिमाथिको गम्भीर प्रश्नमा परिणत भएको छ। मेयर साम्पाङमाथि आफ्ना समर्थक परिचालन गरी उपमेयर आइन्द्र विक्रम वेघामाथि हुलहुज्जत गरेको र हातपातको प्रयास गरेको आरोप लागेको छ। यो घटनाले धरानको राजनीतिक वातावरणलाई थप तनावपूर्ण बनाएको छ।
मेयर साम्पाङले धरान–६ स्थित बहुभाषिक पाठशाला संरक्षणका लागि ‘श्रमदान’ गरेको भिडियो र फोटो सार्वजनिक गर्दै निकै प्रचारप्रसार गरेका थिए। तर, सोही कामको फरफारकका लागि पछि उपभोक्ता समितिबाट बिल पेस भएपछि विवाद सुरु भएको हो। उपमेयर वेघाले आफूलाई जानकारी नै नदिई समिति गठन भएको र प्रक्रिया नपुर्याएको भन्दै रकम निकासा रोकेका थिए। यसै विषयमा मेयर र उपमेयरबीच केही समयदेखि चर्को विवाद चल्दै आएको थियो।
उपमेयर वेघाका अनुसार, मेयर साम्पाङले आफूलाई कर्मचारीसहित पाठशालाको कामको अनुगमन गरी रकम निकासा गर्न निरन्तर दबाब दिएका थिए। तर, नियमअनुसार उपभोक्ता समिति गठन गर्दा काम हुने वडाकै व्यक्तिहरू संलग्न हुनुपर्नेमा मेयरले अन्य वडाका आफ्ना समर्थकहरूलाई राखेर समिति बनाएको वडाध्यक्षहरूले आरोप लगाएका छन्। धरान–१६ का वडाध्यक्ष मुरारी भट्टराईले धरान–१४ का मेयरका सहयोगी प्रसाद राईको संयोजकत्वमा समिति बनेको र अन्य वडाका सत्य घले तथा समीर तामाङलाई पनि समितिमा राखिएको भन्दै आफूलाई समेत जानकारी नभएको बताए।
बजेट बैठकमा हुलहुज्जत: लोकतान्त्रिक प्रक्रियामाथि हमला
सोमबार दिउँसो आर्थिक वर्ष २०८२/०८३ को बजेट सीमा निर्धारणसम्बन्धी महत्त्वपूर्ण बैठक चलिरहेका बेला यो अप्रिय घटना भएको हो। मेयर साम्पाङलाई बैठकमा आमन्त्रण गरिए पनि उनी उपस्थित भएनन्। बरु, करिब साढे ३ बजे मेयरले उपमेयर वेघालाई आफ्नो कार्यकक्षमा बोलाए। उपमेयरका अनुसार, त्यहाँ पहिलेदेखि नै जम्मा भएका मेयरका सय जनाभन्दा बढी समर्थकहरूले उनलाई देख्नासाथ होहल्ला गर्दै हातपातको प्रयास गरेका थिए।
धरान उपमहानगरका प्रवक्ता तथा वडा नम्बर १७ का वडा अध्यक्ष सूर्य प्रसाद भट्टराईले मेयरले विधि र प्रक्रियाभन्दा बाहिर गएर धरानमा मुठभेडको अवस्था निम्त्याएको भन्दै चिन्ता व्यक्त गरे। यो घटनाले जनप्रतिनिधिहरूबीचको सामान्य विवादलाई व्यक्तिगत दुस्मनी र बल प्रयोगको अवस्थामा पुर्याएको देखिन्छ, जसले लोकतान्त्रिक सुशासन र विधिको शासनमाथि नै गम्भीर प्रश्न खडा गरेको छ।
मेयरको स्पष्टीकरण: ‘काम गर्ने मान्छेलाई समितिमा राखियो’
यता मेयर साम्पाङले पत्रकार सम्मेलन गर्दै उपमेयरले फाइल लुकाएको र कर्मचारीलाई धम्काएको कारण जनता आक्रोशित भएको बताएका छन्। उनले उपभोक्ता समिति काम गर्ने मान्छेलाई बनाउनुपर्ने जिकिर गर्दै ‘घरमा बस्ने मान्छेलाई अध्यक्ष बनाएर नहुने’ तर्क गरे। उनले उपभोक्ता समिति मार्फत १७ लाखको काम ७ लाख रुपैयाँमा सम्पन्न भएको दाबी पनि गरेका छन्। उनले खोला कुनै पनि वडाको नहुने तर्क गर्दै आफ्नो कदमको बचाउ गरेका छन्।
यो घटनाले धरान उपमहानगरको आन्तरिक व्यवस्थापन र जनप्रतिनिधिहरूबीचको सम्बन्धलाई थप जटिल बनाएको छ। सुशासन र पारदर्शीताको वकालत गर्ने मेयरकै पालामा यसरी विवाद र मुठभेडका घटना हुनुले आम नागरिकमा निराशा बढेको छ।
२०८२ अषाढ ३, मंगलबार