काठमाडौं : नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले देश बनाउनका लागि पार्टी अध्यक्ष प्रचण्डको विकल्प नरहेको कुरा जनताले बुझिसकेको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा बोल्दै सापकोटाले अहिले अभियानका क्रममा जिल्ला-जिल्लामा पुग्दा जनताबाट यही कुरा अभिव्यक्त भएको जानकारी दिए। उनले नेपाली कांग्रेसलाई ‘सामन्तहरूको पार्टी’ भन्दै त्यसमा जनताको धेरै आशा नरहेको टिप्पणी गरे।
सापकोटाले एमालेका कार्यकर्ताहरू ‘शिर निहुराएको’ अवस्थामा रहेको र उनीहरू ‘असाध्यै रक्षात्मक’ रहेको दाबी गर्दै भने, “त्यसैले हामीलाई मैदान खाली छ। कांग्रेस एमालेका निर्वाचित जनप्रतिनिधिहरूले पनि भित्री हृदयदेखि नै भविष्यको नेतृत्व माओवादीले गर्नुपर्छ, त्यसमा पनि पार्टी अध्यक्ष प्रचण्डको विकल्प छैन भन्ने कुरा हामीले त बुझेको कुरा हो। जनताले पनि त्यो बुझेका छन्। अहिले हामीलाई गरेको स्वागतबाट पनि त्यो अभिव्यक्त भएको छ।”
उनले सहिद परिवार, घाइते तथा अपाङ्ग भएकाहरूलाई शीर्ष स्थानमा राखेर अघि बढ्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए। उनले बेपत्ता भएकाहरू पनि सहिद भइसकेको भन्दै अब उनीहरूको सपना पूरा गर्न नेपालमा समाजवाद स्थापना गर्नुपर्नेमा जोड दिए।
२०८२ अषाढ २, सोमबार