जनकपुरधाम : मधेश प्रदेश सरकारले आज (आइतबार) अपराह्न ४ बजे आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि चालु आर्थिक वर्षभन्दा ठूलो आकारको बजेट प्रदेशसभामा प्रस्तुत गर्दैछ। प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादवले करिब ४६ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेका छन्।
संविधानअनुसार असार १ गतेभित्र बजेट प्रस्तुत गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार प्रदेश सरकारले तयारी पूरा गरेको हो। चालु आर्थिक वर्ष २०८१/०८२ मा मधेश प्रदेशले ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो। यस हिसाबले आगामी बजेट चालु आवको बजेटको तुलनामा तीन अर्बभन्दा बढीले वृद्धि हुनेछ।
बजेटको आकार बढ्नुको मुख्य कारण संघीय सरकारले आगामी आर्थिक वर्षका लागि मधेश प्रदेश सरकारलाई विशेष र समपूरक अनुदानबापत करिब ६ अर्ब रुपैयाँ दिने सुनिश्चितता गर्नु हो। यसअघि चालु आर्थिक वर्षको बजेटमा प्रदेश सरकारले संघीय सरकारसँग विशेष अनुदान र समपूरक अनुदान नमाग्दा बजेटको आकार खुम्चिएको थियो।
अर्थ मन्त्रालयका सचिव रामकुमार महतोका अनुसार, संघीय सरकारबाट आगामी आर्थिक वर्षका लागि समानीकरण अनुदानबापत ७ अर्ब ७२ करोड १९ लाख, राजस्व बाँडफाँटको ८ अर्ब र अन्तःशुल्कबापत ४ अर्ब ३५ करोड ८९ लाख रुपैयाँ को सिलिङ पठाइएको छ। यसका अतिरिक्त सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदानसहित करिब ६ अर्ब रुपैयाँ थप प्राप्त हुने भएपछि बजेटको आकार बढेको हो।
मधेश प्रदेश सरकारले जेठ २३ गते आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ र सरकारले सोही नीति तथा कार्यक्रमको जगमा बजेट ल्याउने दाबी गरेको छ।
चालु आर्थिक वर्षको बजेटमा समानुपापातिक सांसदका लागि डेढ करोड रुपैयाँ र प्रत्यक्ष निर्वाचित सांसदहरूका लागि ५ करोड रुपैयाँभन्दा बढी रकमका योजनाहरू छुट्याइएको थियो। आगामी बजेटमा पनि सांसदहरूको दबाबका कारण योजनाहरू थपिने सम्भावना रहेको सचिव महतोले बताए। मन्त्रालयमा कम बजेटको सिलिङ गए पनि योजना थप्न मन्त्रीलाई पार्टीका कार्यकर्ता र प्रदेश सांसदहरूको दबाब आउने गरेको उनको भनाइ छ। आज प्रस्तुत हुने बजेटले मधेश प्रदेशको विकासका लागि कस्तो रणनीति अपनाउँछ भन्ने कुरामा सबैको चासो रहेको छ।
२०८२ अषाढ १, आईतबार