कैलाली : भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि सुदूरपश्चिम प्रदेशका भारतसँग जोडिएका सीमानाकाहरूमा रहेका हेल्थ डेस्कहरू सक्रिय पारिएको छ। भारतबाट फर्कने व्यक्तिहरूमा कोरोनाको सङ्क्रमण देखापर्न थालेपछि शङ्कास्पद बिरामीहरूको स्वास्थ्य परीक्षण सुरु गरिएको हो।
सुदूरपश्चिम प्रदेश प्रादेशिक आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले दिएको जानकारीअनुसार, कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफण्टा, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट सीमानाकामा रहेका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीहरूले एन्टिजेन परीक्षण गरिरहेका छन्। “कोरोना परीक्षणका लागि प्रयोग हुने किट चारवटै हेल्थ डेस्कमा पुर्याई परीक्षण कार्य भइरहेको छ,” जोशीले भने, “किटको आपूर्ति थोरै मात्रामा भएकाले आवागमनलाई मध्यनजर गरी प्राथमिकताका आधारमा उपलब्ध गराएका छौँ।”
हालसम्म झुलाघाट हेल्थ डेस्कलाई ५५, पुलघाटलाई २५, गड्डाचौकीलाई १०० र गौरीफण्टालाई १५० किट उपलब्ध गराइएको छ। भारतमा खेतीपातीका लागि गएका नेपालीहरूको फर्कने सङ्ख्या बढ्दै गएकाले थप किट आपूर्तिका लागि सम्बन्धित विभागमा पत्राचार गरिएको सूचना अधिकारी जोशीले जानकारी दिए।
यही जेठ २१ गते गौरीफण्टा सीमानाकाबाट भित्रिने यात्रुको कोरोना परीक्षण सुरु गरिएको थियो भने जेठ २७ गतेदेखि थप तीनवटा सीमानाकामा जाँचको व्यवस्था मिलाइएको छ। जेठ २१ देखि २८ गतेसम्म सीमानाका भएर फर्कने १६ जनाको एन्टिजेन नतिजा पोजेटिभ आएको छ।
गड्डाचौकी हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मी विशाल भट्टले यात्रुको चापअनुसार किटको सङ्ख्या थोरै रहेको बताए। “शङ्कास्पद बिरामीको कोरोना जाँच कार्य भइरहेको छ,” उनले भने, “हेल्थ डेस्कमा पुनः कोरोना चेकजाँचको कार्य भएयता एन्टिजेनको नतिजा नेगेटिभ रहेको छ।” हाल सीमानाकामा सञ्चालित प्रत्येक डेस्कमा सात जना कर्मचारी कार्यरत छन्।
२०८२ जेष्ठ २९, बिहिबार