+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जापानमा नेपाली विद्यार्थीको सङ्कट: चम्किलो सपनाभित्रको अँध्यारो यथार्थ

अत्रिदेव खबर
२०८२ जेष्ठ २९, बिहिबार

काठमाडौं: आधुनिक प्रविधि, उच्च अनुशासन र उत्कृष्ट शिक्षा प्रणालीका कारण विश्वभर कहलिएको जापान नेपाली युवाहरूको प्रमुख गन्तव्य बन्न थालेको धेरै वर्ष भइसकेको छ। पछिल्ला केही वर्षमा नेपालबाट जापान आउने विद्यार्थीहरूको सङ्ख्या डरलाग्दो गरी बढेको छ। तर, बाहिरबाट चम्किलो देखिने जापानको यो यात्राभित्र गहिरो अँध्यारो पीडा लुकेको छ, जसलाई हजारौं नेपाली विद्यार्थीहरू दिनरात सहन बाध्य छन्।

विद्यार्थी भिसामा श्रमिक जीवन
जापान स्टुडेन्ट सर्भिस अर्गनाइजेसन (JASSO) को पछिल्लो अध्ययनले जापानमा हाल कुल नेपालीको सङ्ख्या करिब १ लाख पुगेको देखाएको छ, जसमध्ये ६४ हजार ८१६ जना विद्यार्थी भिसामा रहेका छन्। यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले बढेको JASSO ले सन् २०२४ को मे १ सम्मको तथ्याङ्कमा उल्लेख गरेको छ। कुल ३ लाख ३६ हजार ७०८ विदेशी विद्यार्थीमध्ये एसियाबाट ९२.५ प्रतिशत छन्, जसमा चीनपछि नेपाल दोस्रो स्थानमा छ। मे २०२४ यता पनि जापान आउने नेपाली विद्यार्थीको सङ्ख्या झन् डरलाग्दो रूपमा बढ्दै गएको छ।

सैद्धान्तिक रूपमा विद्यार्थी भिसा लिएर जापान आउँदा पढाइलाई प्राथमिकता दिनुपर्ने हो, तर वास्तविकता भने फरक छ। नेपाली विद्यार्थीहरूको ठूलो हिस्साले पढाइभन्दा बढी पैसा कमाउने उद्देश्य बोकेर जापान यात्रा गर्छन्। नेपालमा कन्सल्टेन्सीहरूले देखाएको सपना र आफूले देखेको सुन्दर भविष्य जापान आइपुगेपछि प्रायः चकनाचुर हुने गरेको छ। जापान सरकारको नियमानुसार विदेशी विद्यार्थीले हप्तामा २८ घण्टाभन्दा बढी काम गर्न पाउँदैनन्। तर, नेपालमा घरको सम्पत्ति धितो राखेर वा ठूलो ऋण लिएर आएका विद्यार्थीहरूलाई यो २८ घण्टाको कामले आफ्नो पढाइ र दैनिक खर्च धान्न पनि धौधौ पर्छ। ऋणको भारी तिर्न त झनै असम्भवप्रायः बन्दै गएको छ।

ऋणको बोझ, महँगी र मानसिक तनावको चपेटा
जापान आउनका लागि धेरै विद्यार्थीले १६ देखि १८ लाख रुपैयाँसम्म ऋण लिएका हुन्छन्, जसको मासिक ब्याज मात्रै घरपरिवारका लागि ठूलो बोझ बन्छ। जापानको अहिलेको उच्च महँगी, कोठा भाडा, खानपान र कलेज शुल्क सबै जोड्दा एक महिनामा ठाउँअनुसार कम्तीमा १ लाखदेखि १ लाख ३० हजार जापानी येन आवश्यक पर्छ। हप्ताको २८ घण्टा कामबाट कमाएको पैसाले यो खर्च पुग्दैन।

परिणामस्वरूप, कतिपय विद्यार्थीहरू नियमबाहिरको ह्यान्ड क्यास (अवैध) काम गर्न बाध्य हुन्छन्, जसले गर्दा अध्यागमनले पत्ता लगाएमा भिसा खारेज भई नेपाल फर्किनुपर्ने र भविष्यमा जापान आउन नपाउनेसम्मको खतरा रहन्छ। यही आर्थिक, मानसिक र सामाजिक तनावका कारण पछिल्ला वर्षहरूमा जापानमा नेपाली विद्यार्थीहरूको आत्महत्याको सङ्ख्या चिन्ताजनक रूपमा बढ्दै गएको छ। एउटा विद्यार्थीले आत्महत्या गर्दा त्यसको पीडा परिवार, साथीभाइ र समग्र समुदायले सहनुपर्छ।

जापानी जीवनशैली र भाषागत चुनौती
खासगरी १२ कक्षा सकेर १८-१९ वर्षकै कलिलो उमेरमा जापान आएका विद्यार्थीहरू अझ बढी समस्यामा पर्ने गर्छन्। सानै उमेरमा घरपरिवारबाट टाढा हुनु, जापानी भाषा राम्ररी नबुझ्नु र नयाँ संस्कृति तथा जीवनशैलीसँग घुलमिल हुन नसक्नुले उनीहरूलाई मानसिक रूपमा कमजोर बनाउँछ। जापानी भाषा, विशेषगरी कान्जी (漢字), धेरै कठिन मानिन्छ। भाषाको राम्रो ज्ञान नभएका विद्यार्थीलाई काम खोज्नदेखि लिएर दैनिकीका हरेक पक्षमा कठिनाइ हुन्छ।

कलेजको पढाइ सकिएपछि सेनमोन् (專門学校) जानुपर्दा खर्च झनै बढ्छ। कोठा सर्न खोज्दा नयाँ सम्झौताका लागि लाग्ने किहोन र्‍योकिन (सुरुवाती शुल्क) लगायतका खर्चहरू ठाउँअनुसार १ लाखदेखि २ लाख येनसम्म पर्नसक्छ। धेरैजसो विद्यार्थी नेपालबाट आएको सुरुका २-३ महिनासम्म काम नपाएरै बस्न बाध्य हुन्छन्। कोठा भाडा, खाना खर्च, कलेजको शुल्क सबै आन्तरिक पीडासँगै उनीहरूले थेगिरहेका हुन्छन्। कतिपय विद्यार्थीहरू त खान नपाएरै रात कटाउन बाध्य हुन्छन्, तर उनीहरू यो पीडा बाहिर देखाउँदैनन्।

समाधानका लागि सामूहिक पहल आवश्यक
यो गम्भीर समस्या समाधानका लागि नेपाल सरकार, अभिभावक र स्वयं विद्यार्थी सबैको सामूहिक पहल अपरिहार्य छ। नेपाल सरकारले जापान आउने विद्यार्थीहरूका लागि भाषा, जापानी जीवनशैलीको यथार्थ जानकारी र वित्तीय तयारीबारे अनिवार्य अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्छ। जापानस्थित नेपाली दूतावास, गैर-आवासीय नेपाली सङ्घ (एनआरएनए) जापान र अन्य नेपाली संघसंस्थाहरूले विद्यार्थीहरूका लागि परामर्श सेवा र सहयोग केन्द्र स्थापना गर्नुपर्छ।

त्यस्तै, अभिभावकहरूले जापानलाई चमत्कारी गन्तव्यका रूपमा नहेरी यथार्थपरक बुझाइ राख्नुपर्छ। विद्यार्थीहरूले पनि जापानमा सजिलै पैसा कमाएर ऋण तिर्न सकिन्छ र उतै जम्न पाइन्छ भन्ने भ्रमबाट मुक्त हुन जरुरी छ। यथार्थलाई स्वीकार गरी उचित तयारी र सावधानी अपनाउन सके मात्र जापानमा नेपाली विद्यार्थीहरूको जीवन सहज र सुरक्षित बन्न सक्छ।

  • भुवन भण्डारी हाल जापानमा छन्  

२०८२ जेष्ठ २९, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २९, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ