+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी: साइबर कसुरको आरोप

अत्रिदेव खबर
२०८२ जेष्ठ २८, बुधबार

काठमाडौं :  पत्रकार दिलभूषण पाठकविरुद्ध विद्युतीय कारोबार ऐन (साइबर) अन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी भएको छ। प्रहरी उच्च स्रोतले अनलाइनखबरलाई पुष्टि गरेअनुसार पाठकविरुद्ध साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरिएको हो। यद्यपि, कसले र के आरोपमा उजुरी हालेको भन्नेबारे प्रहरीले विस्तृत जानकारी दिएको छैन।

पाठकविरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्युरोमा उजुरी परेपछि ब्युरोले काठमाडौं जिल्ला अदालतसँग पक्राउ पुर्जीका लागि अनुमति मागेको थियो। अदालतले अनुमति दिएपछि पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनाको अनुमानित कारण
पक्राउ पुर्जीको कारणबारे प्रहरीले स्पष्ट नखुलाए पनि पाठकले करिब तीन हप्ताअघि आफ्नो युट्युब च्यानलमा पोस्ट गरेको एउटा सामग्री नै यसको मुख्य कारण भएको अनुमान गरिएको छ। उक्त भिडियोमा पाठकले हिल्टन होटलको शेयर खरिदबिक्री सँग सम्बन्धित विषयमा चर्चा गरेका थिए। उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीरबारे उल्लेख गर्दै दुबई, अस्ट्रेलिया हुँदै क्यानडासम्म रियलस्टेट बिजनेस फैलाएको र शंकर ग्रुपको मुख्य लगानी रहेको नक्शालस्थित पाँचतारे होटल हिल्टनमा पनि जोडिएको दाबी गरेका थिए। साथै, उनले जयवीरको सम्पत्तिमाथि पनि प्रश्न उठाएका थिए।

शंकर ग्रुपको खण्डन र कानुनी कारबाहीको चेतावनी
पाठकले युट्युबमा सामग्री पोस्ट गरेपछि शंकर ग्रुपले गत वैशाख २१ गते एक विज्ञप्ति जारी गर्दै त्यसको खण्डन गरेको थियो। विज्ञप्तिमा भनिएको थियो, “राजनीतिक व्यक्ति र व्यापारिक घरानाको नाम जोडी हुँदै नभएको विषय सृजना गरी सार्वजनिक भएका यस्ता भ्रामक समाचारहरूले व्यवसायको प्रतिष्ठा र राजनीतिज्ञको राजनीतिक जीवनमा समेत नकारात्मक असर पुर्‍याउने कार्य भए गरेको प्रति गम्भीर आपत्ति जनाउँदै नेपालको प्रचलित कानुन बमोजिम आवश्यक प्रक्रिया अपनाइने व्यहोरा सम्पूर्णमा जानकारी गराउँदछौं।” शंकर ग्रुपको यो विज्ञप्ति र पाठकविरुद्ध जारी भएको पक्राउ पुर्जीको समयतालिकालाई हेर्दा, यही विषयमा उजुरी परेको र त्यसैको आधारमा पक्राउ पुर्जी जारी भएको अनुमान गरिएको छ।

२०८२ जेष्ठ २८, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २८, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ