जनकपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली विद्यार्थीहरूको ‘जेनेटिक पावर’ सशक्त रहेको बताएका छन्। विद्वान पुर्खाका सन्तान भएकाले नेपाली विद्यार्थीहरूमा अदम्य क्षमता निहित रहेको उनको भनाइ थियो।
राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका ओलीले नेपालका विश्वविद्यालयबाट दीक्षित विद्यार्थीहरूले संसारको जुनसुकै विश्वविद्यालयमा गएर प्रतिस्पर्धा गर्न सक्ने विश्वास व्यक्त गरे। प्रधानमन्त्री ओलीले नेपाललाई ज्ञानको भूमि भन्दै यसको प्राचीन सभ्यताको स्मरण गराए। उनले भने, “नेपाल ज्ञानको भूमि हो। शैव र विश्वामित्रजस्ता पुरानो सभ्यता भएको मुलुक हो। विश्वको पहिलो आयुर्वेदाचार्य चरक ऋषि यही देशका हुन्। न्यूटनले गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाउनुअघि हाम्रा भास्कराचार्यले ‘सिद्धान्त शिरोमणि’ पुस्तक विसं. १२१० मा निकालेका थिए।” 
पूर्वीय दर्शनलाई अन्धविश्वासमा आधारित भनी भ्रम फैलाउने प्रयास गरिए पनि त्यो सही नभएको ओलीले स्पष्ट पारे। “यो त सिद्धान्त हो। अनुभूति, अनुभव र ज्ञानको संग्रहबाट सिद्धान्त बन्छ भन्ने आधारमा यो दर्शन रहेको छ। यस दर्शनका हिमायतीहरू विश्वमा कमजोर हुन सक्दैनन्,” उनले बताए। प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीहरूलाई मेहनत गरेमा सफलता हात लाग्ने र रुचिको विषय पढ्ने अवसर प्राप्त भएमा हरेक विद्यार्थीले आफूभित्रको सम्भाव्यता प्रस्फुटित गराउन सक्ने बताए।
“तपाईँहरूले यहाँ पाउनुभएको ज्ञान र दीक्षाका आधारमा तपाईँहरू संसारको जुनसुकै विश्वविद्यालयमा प्रतिस्पर्धामा जान सक्नुहुन्छ,” उनले भने, “तपाईँहरूमा म पठित छु भन्ने घमण्ड होइन, मानवता र करुणाको भावना हुनुपर्छ। विद्याले विनयशीलता, विनयशीलताले राम्रो पात्रता, पात्रताले धन र धनले सुख दिन्छ।”समारोहमा विभिन्न संकाय र तहका १२५ विद्यार्थी दीक्षित भएका थिए। वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलले दीक्षान्त मन्तव्य व्यक्त गरेका थिए।

२०८२ जेष्ठ २७, मंगलबार