काठमाडौं : नेकपा (एमाले) भित्र नेता–कार्यकर्ताका लागि तोकिएको ७० वर्षे उमेरहद र कार्यकारी पदमा दुई कार्यकालको सीमा बारेको बहसले तीव्रता पाएको छ। अनेरास्ववियुका पूर्वअध्यक्ष विश्वकान्त मैनालीले यही उमेरहदका कारण आफू सक्रिय राजनीतिबाट बिदा भएको बताएपछि यस विषयले पुनः पार्टीभित्र चर्चा पाएको हो।
ओलीको तर्क: ‘७० वर्ष फेल खाइसक्यो, स्वास्थ्य र कार्यक्षमता मुख्य’
जेठ २५ गते अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षे उमेरको सीमा ‘फेल खाइसकेको’ टिप्पणी गरे। आफू हाल ७४ वर्षको उमेरमा सक्रिय रहेको उदाहरण दिँदै उनले भने, “७० वर्षमा रिटायर्ड हुने भन्ने कुरा फेल खाएन? अहिले म ७४ चलिराखेको छु। ७० वर्षमा रिटार्यड हुन उमेर चार वर्ष घटाउन भएन क्यारे! उमेरले होइन, स्वास्थ्यले साथ दिन्छ दिँदैन? यी कुराहरू मुख्य हुन्। कार्यक्षमता हुन्छ कि हुँदैन मुख्य कुरा यी हुन्।” अध्यक्ष ओलीले चीनको उदाहरण दिँदै त्यहाँ दुईपटक मात्रै राष्ट्रपति वा पार्टी महासचिव हुन पाउने प्रबन्ध हटाएको र अहिले राष्ट्रपति सी चिनफिङ ७२ वर्ष पुगिसक्दा पनि निरन्तरतामा रहेको तर्क गरे। अन्य कम्युनिस्ट पार्टीहरूले पनि उमेरहद हटाएको उनको भनाइ थियो।
ईश्वर पोखरेलको फरक मत: ‘७० वर्षे उमेरहद र दुई कार्यकालको निरन्तरता आवश्यक’
पार्टी अध्यक्ष ओलीले ७० वर्षे प्रावधान असफलसिद्ध भइसकेको जिकिर गरे लगत्तै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भने त्यसको विरुद्धमा आफ्नो धारणा सार्वजनिक गरेका छन्। हिमालय टेलिभिजनको ‘यक्ष प्रश्न’ कार्यक्रममा पत्रकार राजेन्द्र बानियाँसँग कुरा गर्दै पोखरेलले आफू ७० वर्षे उमेरको सीमाको पक्षमा मात्र नभई लगातार दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा बस्नुनहुने पक्षमा रहेकोसमेत बताए। पोखरेलले एमालेको नवौँ महाधिवेशनले नेतृत्वका बारेमा दुईवटा कुरा तय गरेको स्मरण गराए: एउटा उमेरको सीमा ७० वर्ष, र अर्को कार्यकारी पदमा लगातार दुईपटकभन्दा बढी नबस्ने प्रावधान।
उनले २०७५ जेठ ३ गते माओवादी केन्द्रसँग पार्टी एकता गर्दा ७० वर्षे प्रावधान हटेको र २०७८ मा एमालेले विधान महाधिवेशन गर्दा पुनः त्यो प्रावधान राखिएको स्पष्ट पारे। तर, २०८० जेठमा एकीकृत समाजवादीबाट मुकुन्द न्यौपानेसहितका नेताहरूलाई भित्र्याउनका लागि मात्र केही समयका लागि उक्त प्रावधान ‘खुला’ गरिएको उपाध्यक्ष पोखरेलको दाबी छ। “यसको अर्थ, जुन महाधिवेशनले व्यवस्था गरेको थियो, त्यो व्यवस्था केही समयका लागि अन्तरिम व्यवस्थापन गरेको हो,” उनले भने। उनले अहिले निष्क्रिय राखिएको निर्णयलाई आउँदो भदौमा हुने विधान महाधिवेशनले अनुमोदन गर्छ वा गर्दैन भन्ने हेर्नुपर्ने बताए।
“लगातार दुईटा कार्यकारी पदमा बसेकाले दुई कार्यकालपछि निरन्तरता पाउनुहुँदैन भनेर हामीले लामो छलफल गरेर तय गरेको विषय थियो। त्यसलाई निरन्तरता दिनुपर्छ भन्ने पक्षमा छु म,” ७३ वर्ष पूरा भइसकेका पोखरेलले भने। उनले आफ्नो तर्क कुनै व्यक्तिका सन्दर्भमा नभई पार्टीको मान्यताको आधारमा रहेको जिकिर गरे। हाल अध्यक्ष ओली ७४ वर्ष र उपाध्यक्ष पोखरेल ७३ वर्ष पुगिसकेका छन्। २०७८ को विधान अधिवेशनले ७० वर्षे उमेरहदलाई निरन्तरता दिए पनि लगातार दुई कार्यकालको कार्यकारी पदको सीमालाई भने विधानमा समावेश गरेको थिएन। सचिवालय बैठकले विधान महाधिवेशनको निर्णय निष्क्रिय तुल्याएको भन्ने आलोचना चलिरहेका बेला नेताहरूले यसरी मुख खोल्न थालेका छन्।
एमालेभित्र ७० वर्षे उमेरहद र कार्यकारी पदको कार्यकाल सीमा सम्बन्धी यो बहसले आगामी विधान महाधिवेशनमा कस्तो मोड लेला, त्यो हेर्न बाँकी नै छ।
२०८२ जेष्ठ २७, मंगलबार