काठमाडौं : नेपालको राजनीतिमा आफ्नो अद्वितीय पकड जमाएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली यतिबेला आफ्नै दलभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बढ्दो सक्रियता बाट त्रसित देखिन थालेका छन्। सार्वजनिक मञ्चबाट उनको उमेर हदको विषय उठाउनु, महाधिवेशनको चर्चा आफैँ झिक्नु र अप्रत्यक्ष रूपमा भण्डारीमाथि ‘स्याडो बक्सिङ’ (काल्पनिक दुस्मनविरुद्ध मुक्का) हान्नुले यसको पुष्टि गर्छ। प्रश्न उठ्छ, देशको शक्तिशाली नेता ओली आखिर किन विद्या भण्डारीसँग यतिविधि डराएका छन्?
सामान्यतया राजनीतिक प्रतिस्पर्धी वा विरोधी दलका नेताहरूबीच आरोप-प्रत्यारोप चल्छ। ओलीका हकमा नेपाली कांग्रेसका शेरबहादुर देउवा र माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै प्रमुख प्रतिस्पर्धी हुन्। तर, पछिल्ला दिनहरूमा उनका अभिव्यक्तिहरूले देउवा वा प्रचण्डभन्दा पनि विद्या भण्डारी नै उनको मुख्य निसानामा परेको संकेत गर्छन्।
हालै अनेरास्ववियुको २४ औँ महाधिवेशन उद्घाटनका क्रममा ओलीले आफू ७४ वर्ष पुगिसकेको र आफू अध्यक्ष भएकाले उमेर हदको विषय गलत भएको तर्क गरे। उनको यो भनाइले एमालेभित्र उमेर हदबारेको बहसलाई वर्जित गरेको स्पष्ट सन्देश दिन्छ। यसले भण्डारी जस्ता पूर्वपदाधिकारीलाई समेत यस विषयमा बोल्न छुट नभएको देखाउँछ।
स्मरण रहोस्, ओलीले गत वैशाख ९ गते (नेकपा स्थापनाको ७६ औँ वर्षगाँठ) मा ‘म त २०-२५ वर्षपछि मात्र बुढो हुन्छु’ भन्ने दाबी गरेका थिए। यो अभिव्यक्ति सिधै निवर्तमान राष्ट्रपति विद्या भण्डारीलाई लक्षित थियो, जसले नेपालखबरसँगको अन्तर्वार्तामा एमाले नेतृत्वको उमेर वा स्वास्थ्यका कारण नेतृत्व लिनुपर्ने स्थिति आएमा आफू तयार रहेको बताएकी थिइन्। ओलीको यो भनाइलाई भण्डारीलाई ‘सफ्ट वार्निङ’ को रूपमा हेरिएको थियो, जसले उनलाई २०-२५ वर्षसम्म नेतृत्वमा आँखा नलगाउन चेतावनी दिएको बुझिन्छ।
गृहथलोमा भण्डारीको सक्रियता: ओलीको चिन्ताको विषय
पूर्वराष्ट्रपति भण्डारीको सक्रियताले ओलीलाई थप चिन्तित बनाएको देखिन्छ। गत जेठ २४ गते झापाको विर्तामोडस्थित देवी माविले आयोजना गरेको विज्ञान तथा प्रविधि प्रदर्शनी उद्घाटनका लागि भण्डारीको उपस्थिति र त्यसअघि विराटनगरमा आयोजित स्थानीय तहका उपमेयर-उपाध्यक्षहरूको भेला उद्घाटन उनको बढ्दो राजनीतिक सक्रियताको प्रमाण हो। विराटनगर (मोरङ) एमालेमा संस्थापन पक्ष र इतरपक्षको शक्ति प्रदर्शनस्थल बनेको पृष्ठभूमिमा ओलीले आफ्नो गृहथलोमा भण्डारीको यो सक्रियतालाई आफूविरुद्ध लक्षित ठानेका हुन सक्छन्।
महाधिवेशनको मिति घोषणा नभएको अवस्थामा पनि ओलीले अखिलको महाधिवेशनमा महाधिवेशन र नेतृत्वको चर्चा आफैँ किन झिके? यसको मुख्य कारण भीम रावलको निष्कासनपछि आगामी महाधिवेशनमा ओलीलाई हाइसञ्चो हुने ठानिए पनि पूर्वराष्ट्रपति भण्डारीको सक्रियतासँगै उनको नाम भावी नेतृत्वका रूपमा चर्चामा आउनु हो। अरूलाई ‘म’ समेत उच्चारण गर्न प्रतिबन्ध लगाएर ओलीले ‘महाधिवेशन’ को चर्चा गरेको यही कारणले हो भन्ने विश्लेषकहरूको मत छ।
भण्डारीबिनाका ओली र ‘लिगेसी’को शक्ति
ओलीले भण्डारीलाई ‘पार्टीले राष्ट्रपति बनाएको हो’ भनेर सार्वजनिक रूपमा भन्ने गरे पनि निजी कुराकानीमा आफ्नो भूमिका निर्णायक रहेको बताउँछन्। तर, भण्डारीको राजनीतिक यात्रा ओलीको ‘निगाह’ मा मात्रै सीमित छैन। ओलीले आफ्नो शक्ति आर्जन गर्नुभन्दा अगाडि नै भण्डारी मालेको राजनीतिमा सक्रिय थिइन्। मदन भण्डारीसँग विवाहपछि उनको राजनीतिक सक्रियता झनै बढ्यो र दासढुङ्गा दुर्घटनाअघि मदन भण्डारीको सफलतामा विद्या भण्डारीको योगदानलाई नजरअन्दाज गर्न सकिँदैन।
२०५० पुसमा काठमाडौँ-१ मा भएको उपनिर्वाचनमा तत्कालीन कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेपछि विद्या भण्डारीको राजनीतिक चर्चा चुलिएको थियो। त्यसबेला उनको विजयमा मनमोहन अधिकारी, माधव नेपाल र सीपी मैनाली जस्ता नेताहरूको भूमिका बढी देखिन्छ, जसमा ओलीको भूमिका कम थियो।
यसको अर्थ यो होइन कि ओलीले भण्डारीलाई राष्ट्रपति बनाउन भूमिका खेलेनन्। तर, ओली शक्तिशाली बन्नुमा भण्डारीको ‘जबज’ पन्थीको रूपमा रहेको साथ पनि महत्त्वपूर्ण थियो। यदि भण्डारी ‘निगाह’कै भरमा सर्वाेच्च पदमा पुगेकी थिइन् भने ओली अहिले कुनै राजकीय जिम्मेवारी वा पार्टी सदस्यसमेत नरहेकी भण्डारीसँग यति धेरै भयभीत हुनुपर्ने थिएन। ओलीले सुरु गरेको ‘स्याडो बक्सिङ’ भण्डारीको बढ्दो शक्तिकै कारण हो भन्ने कुरा स्पष्ट छ।
ओलीलाई ‘आच्छु-आच्छु’ पार्ने ‘लिगेसी’ र कार्यकर्ताको अपेक्षा ,ओली भण्डारीसँग यति भयभीत हुनुका दुई प्रमुख कारण छन् ।
१. ‘एमाले जोगाउनुपर्छ’ भन्ने कार्यकर्ताको भावना: २०७१ को नवौँ महाधिवेशनमा झिनो मतान्तरले अध्यक्ष बनेका ओलीले न नेकपा जोगाउन सके, न त एमाले नै। २०७४ मा दुई तिहाइनजिक पुगेको पार्टी २०७९ का तीनवटै निर्वाचनमा दोस्रो स्थानमा खुम्चियो। ओलीको ‘करिस्मा’ ध्वस्त भएको छ, उनी आशाको होइन हाँसोको पात्र बनेका छन्। यो परिस्थितिमा एमाले नेता-कार्यकर्ताहरू इतिहासमै सबैभन्दा बढी प्रतिरक्षात्मक स्थितिमा छन्। पार्टी दुर्घटनाबाट जोगाउनसक्ने ‘पाइलट’ को अपेक्षामा रहेको ठूलो पंक्तिले भण्डारीको सक्रियतालाई वैकल्पिक नेतृत्वका रूपमा हेरेको छ।
२. मदन भण्डारीको ‘लिगेसी’: विद्या भण्डारीसँग जोडिएको मदन भण्डारीको ‘लिगेसी’ को शक्ति ओलीले राम्ररी बुझेका छन्। यही ‘लिगेसी’को मूल-सहारामा ओली यहाँसम्म आइपुगेका हुन्। यो लिगेसीको शक्तिका कारण भण्डारी निर्णायक रूपले अघि बढ्दा एमालेभित्रको पासा कता पल्टिन्छ भन्ने कुराको हेक्का ओलीलाई छ। भण्डारीको प्रतिवाद गर्न ओलीसँग कुनै ‘अस्त्र’ बाँकी छैन, त्यसैले उनी आफैँ महाधिवेशन र उमेर हदको प्रसंग झिकेर ‘स्याडो बक्सिङ’ गरिरहेका छन्।
निष्कर्षमा, ओलीको विद्या भण्डारीविरुद्धको अदृश्य युद्धले एमालेभित्रको भावी नेतृत्व संघर्ष र शक्ति सन्तुलनको जटिल खेललाई उजागर गरेको छ। के यो ‘स्याडो बक्सिङ’ ले ओलीलाई थप बलियो बनाउला या भण्डारीको राजनीतिक उडानलाई थप ऊर्जा देला? आगामी दिनमा यो द्वन्द्वले कस्तो रूप लिन्छ, त्यो हेर्न बाँकी नै छ।
२०८२ जेष्ठ २७, मंगलबार