+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

“विदेशी सपनाको भारी मूल्य : पीडाको देश, पलायनको बाटो” 

प्रकाश मिश्र
२०८२ जेष्ठ २५, आईतबार

काठमाडौँ : काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्ष आज पनि खचाखच थियो — तर कुनै चाडपर्व होइन, न त कुनै राष्ट्रिय उत्सव। त्यो भिडमा थिए — टाउकोमा ढाका टोपी, काँधमा झोला, आँखामा आँशु र मनमा डर बोकेका आमाबुवा, दाजुभाइ र छोराछोरी — जसले आज फेरि एक जनालाई विदेश पठाउँदै थिए।
“म आमा हजुरबिनाको एक पल पनि बस्न सक्दिन,” भन्दै रुने छोरो, आज कतारको टिकट समातेर उड्दैछ। “बाबा, तपाईंको हात समाएर ठुलो हुन्छु भनेर सोचेको थिएँ, तर अब त्यो हात छोड्नुपर्ने भयो,” भन्ने छोरी, आज अस्ट्रेलिया पढ्न भन्दै क्याम्पसको सर्टिफिकेट, र आँशुले भिजेको पासपोर्ट बोकेर उड्दैछिन्।

नेपालबाट हरेक दिन औसत १,८०० जना श्रमिक रोजगारीको खोजीमा विदेश गइरहेका छन्। अध्ययनको नाममा, भिजिटको नाममा, रोजगारको नाममा — ती सबै एउटै प्रश्नको उत्तर खोजिरहेका छन् : “नेपालमा बाँच्ने अधिकार कहिले पाइन्छ?” एकातिर सुनको थालमा भाषण गर्ने नेता — “देशमा रोजगारीको व्यवस्था गर्छौं,” भन्दै माइकमा चिच्याउँछन्। अर्कोतिर, जनताको छोराछोरी आज फेरि एउटै लाइनमा उभिन्छन् — अध्यागमन डेस्कमा, हातमा टिकेट बोकेर।

देश छाड्नु भनेको केवल माटो छोड्नु होइन। त्यो छाड्नु हो, आमाको काख — जुन रातमा टाउकोमा हात राखेर सुताइदिन्थ्यो। त्यो छाड्नु हो बुबाको त्यो मौन आँसु — जसले कहिल्यै ‘पसिनाले चिसिएको छ’ भनेर गुनासो गरेन। त्यो छाड्नु हो, त्यो गाउँ — जसको गल्लीमा हामीले जीवनको पहिलो सपना देखेका थियौं।अहिले नेपाली युवाहरूका लागि विदेशको सपना, एजेन्टहरूका लागि व्यापार बनेको छ। एजेन्टले भनिदिन्छ — “तपाईंको भिसा पक्का छ, केवल पैसा दिनुहोस्।” अनि बुबा उ ऋण खोज्न गाउँभरि दौडिन्छन्। छोरा विदेशी भूमिमा श्रमिक बन्छ, र बुबा ऋणको भारीले झुक्दै जान्छ।

यसरी प्रश्न उठ्छ — यी युवाहरूलाई देशमै रोजगारी दिन सकिँदैन? शिक्षा प्रणाली सुधार्न सकिँदैन? प्राविधिक शिक्षा, व्यावसायिक तालिम, उद्योग स्थापना — यी कुरा केवल घोषणापत्रमा मात्र सीमित किन?देशभित्र विकासका अवसर छैनन्, भने जनताको सास किन बन्धक बनाइएको छ? कहाँ छन् ती बजेटका हिसाब? कहाँ छन् ती चिल्ला भाषणका परिणामहरू?

आज फेरि एक छोरी आमाको काख छोडेर उड्दैछ — “फर्केर आउँछु आमा,” भन्दै। एक छोराले बुवाको हात छोड्दै भनिरहेको छ — “अब म पनि विदेशतिर लाग्छु।” अनि हामी, पत्रकार, लेखिरहन्छौं यो पीडा — तर परिवर्तन चाहिँ आउँदैन।

 

२०८२ जेष्ठ २५, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २५, आईतबार

लेखकको बारेमा

प्रकाश मिश्र

अत्रिदेव खबर

ट्रेन्डिङ