कैलाली : कैलालीको लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाबीच सीमाना विवाद चर्किएको छ। लम्कीचुहा नगरपालिकाले लम्की–टीकापुर सडकमा स्वागत गेट बनाउन थालेपछि यो विवाद उत्पन्न भएको हो। गेट बनाउन थालेको स्थान जानकी गाउँपालिका–५ मा पर्ने दाबी गर्दै गाउँपालिकाले निर्माण कार्य रोक्न विरोध जनाएको छ।
लम्कीचुहा नगरपालिकाले प्राप्त नक्शा र प्रहरीले लगाएको सीमाबोर्डको आधारमा गेट बनाउन थालिएको दाबी गरेको छ। लम्कीचुहाका प्रमुख सुशीला शाहीले जानकी गाउँपालिका सहमतिमा आउनुपर्ने र काम हुन दिनुपर्ने बताएकी छिन्। उनले छलफलबाट निकास निस्किएमा फलामे गेट पछि सार्न सकिने तर अहिले काम जारी राख्न दिनुपर्नेमा जोड दिएकी छिन्। करिब ३३ लाख रुपैयाँको लागतमा स्वागत गेट बनाउन ठेक्का दिइएको छ।
उता, जानकी गाउँपालिकाले भने बल मिच्याइँ गरेर गेट निर्माण नगर्न विज्ञप्ति जारी गरेको छ। गाउँपालिकाका अध्यक्ष गणेश चौधरीद्वारा जारी विज्ञप्तिमा जिल्ला समन्वय समितिसँग समन्वय गरी नापी विभागको सहयोगमा समाधान निकाल्नु पर्नेमा हदैसम्मको बलमिच्याइँ भएको उल्लेख छ। जानकी गाउँपालिकाले गेटको पूर्वपट्टिको खम्बा अमौरी गाउँमा र पश्चिमपट्टिको खम्बा शिवपार्वती सामुदायिक वनमा परिरहेको भन्दै वन र अमौरी गाउँसहित ३०० मिटर परसम्म गाउँपालिकाको सीमाना रहेको दाबी गरेको छ। शिवपार्वती वनका अध्यक्ष फूलपति चौधरीले पूर्खादेखि नै साविक पथरैया गाविस र हाल जानकी गाउँपालिका–५ मा पर्ने क्षेत्र लम्कीचुहाले मिच्न खोजेको महसुस भएको बताएका छन्।
शनिबारदेखि नै दुई पालिकाका स्थानीय बासिन्दाबीच तनाव उत्पन्न भएको छ। आइतबार लम्कीचुहा नगरपालिकाले नगरप्रहरी खटाएर काम जारी राखेपछि जानकी गाउँपालिकाका नागरिकले अवरोध गरेका छन्। विवादित स्थलमा पुगेका जिल्ला समन्वय समिति कैलालीका उपप्रमुख खगराज भुषालले दुवै पालिका प्रमुख र जनप्रतिनिधिहरू बसेर विवाद टुङ्ग्याउनुपर्ने र जनता लडाइँमा उत्रिन नहुने बताएका छन्। उनले दुवै पक्षबीच सहमति नहुञ्जेलसम्म यथास्थितिमा राख्न जिल्ला प्रशासन कार्यालय कैलालीलाई निर्देशन दिएको पनि जानकारी दिए।
लम्कीचुहा नगरपालिकाको सीमा जोडिएका जानकी र मोहन्याल गाउँपालिकासँग नदी स्रोतको स्वामित्वका विषयमा पनि सीमा विवाद हुँदै आएको स्थानीयको भनाइ छ। यस घटनाले स्थानीय तहहरूबीचको सीमांकन र स्रोतसाधनको बाँडफाँटको जटिलतालाई पुनः उजागर गरेको छ।
२०८२ जेष्ठ २५, आईतबार