काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घ बहादुर सोडारीविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। सोडारीले आफ्नो सार्वजनिक सेवाको पदमा रहँदा गैरकानूनी रूपमा १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा सम्पत्ति आर्जन गरेको दाबी गर्दै अख्तियारले सोमबार विशेष अदालतमा आरोपपत्र पेश गरेको हो।
अख्तियारका अनुसार, सोडारीले २०७४ माघ ७ देखि २०७९ माघ १० सम्मको अवधिमा आफ्नो हैसियत दुरुपयोग गरी ठूलो परिमाणको सम्पत्ति आर्जन गरेका थिए। यस अवधिमा उनको पारिश्रमिक, बैंक ब्याज, कृषि आय, श्रीमती तथा छोराछोरीको पारिश्रमिक, सामाजिक सुरक्षा भत्ता लगायतका वैध स्रोतबाट जम्मा ८५ लाख ५१ हजार ३३४ रुपैयाँ ९२ पैसा मात्र आम्दानी भएको पाइएको छ।
तर, सोही अवधिमा सोडारीले जग्गा खरिद, घर निर्माण, भित्री सजावट, छोरीको अध्ययन खर्च, छोराको विवाह खर्च, शेयर लगानी, चुनाव खर्च लगायतका शीर्षकमा कुल १ करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ ४९ पैसा खर्च गरेको देखिएको छ। आम्दानी र खर्चको तुलना गर्दा सोडारीको १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसाको स्रोत नखुलेको अख्तियारको दाबी छ।
अख्तियारले सोडारीले भ्रष्टाचार निवारण ऐन, २०५९ का विभिन्न दफा अन्तर्गत कसुर गरेको दाबी गरेको छ। आयोगले सोडारीका श्रीमती गीता सोडारी र छोरा बबि सोडारीको नाममा खरिद गरिएको जग्गा, घर निर्माण, बैंक मौज्दातसमेत जफत गर्न माग गरेको छ। विशेष अदालत काठमाडौंमा दायर गरिएको आरोपपत्रमा सोडारीलाई भ्रष्टाचार गरेको ठहर गरी बिगोअनुसार कैद र जरिवाना गराउन माग गरिएको छ। साथै, सोडारीले सम्पत्ति विवरणमा झूटा विवरण पेश गरेको पाइएकाले थप कारबाहीको पनि माग गरिएको छ।
२०८२ जेष्ठ १९, सोमबार