काठमाडौँ : गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ सम्बन्धी ऐनको विरोधमा देशभरका यातायात व्यवसायीहरूले सार्वजनिक सवारी साधन ठप्प पारेका छन्। तर, यही बन्दको फाइदा उठाउँदै चर्को भाडा असुल्ने ‘राइड सेयरिङ’ व्यवसाय र त्यसका सञ्चालकहरू भने अहिले ‘मालमाल’ भइरहेको गुनासो यात्रुहरूले गरेका छन्। जसको विरोधमा बन्द गरिएको हो, अप्रत्यक्ष रूपमा उसैलाई फाइदा पुगेको यो अवस्थाले यात्रुहरूलाई थप मारमा पारेको छ।
बन्दका कारण काठमाडौँ उपत्यकालगायत देशभरका सडकहरूमा सार्वजनिक बस र माइक्रोबसहरू देखिएका छैनन्। निजी सवारीसाधन नहुने हजारौँ यात्रुहरू, विशेषगरी महिला, बालबालिका, बिरामी र वृद्धवृद्धा, पैदल हिँड्न बाध्य भएका छन्। यही मौका छोपेर पठाओ,इनड्राइभ जस्ता एपमा आधारित राइड सेयरिङ सेवाहरूले यात्रुबाट मनपरी भाडा असुलिरहेका छन्।
यात्रुहरूका अनुसार, राइडरहरूले एपमा देखिनेभन्दा धेरै गुणा बढी भाडा लिएर ‘अफलाइन बार्गेनिङ’ गर्ने गरेका छन्। बाध्यतामा परेका यात्रुहरूले महँगो भाडा तिरेरै भए पनि गन्तव्यमा पुग्न यी सेवाको प्रयोग गरिरहेका छन्। प्रहरी प्रधान कार्यालयले धेरै भाडा नअसुल्न आग्रह गर्दै गुनासो आएमा नजिकको ट्राफिक प्रहरी कार्यालय वा १०० नम्बरमा फोन गर्न आग्रह गरे पनि, यो समस्या नियन्त्रणमा आउन सकेको छैन।
यातायात व्यवसायीहरूले राइड सेयरिङलाई व्यवस्थित गर्ने नियमको विरोधमा बन्द आह्वान गरे पनि, यो बन्दले अन्ततः सोही सेवालाई थप फस्टाउने अवसर दिएको छ। यसले गर्दा सार्वजनिक यातायातको अभावमा यात्रुहरू थप मारमा परेका छन् भने नियमनको अभावमा राइड सेयरिङले चर्को भाडा असुलेर उपभोक्तालाई ठगी गरिरहेका छन्। यस अवस्थामा सरकारले तत्काल पहल गरी आन्दोलनको समाधान खोज्नु र यात्रुहरूलाई पर्न गएको सास्ती कम गर्नुपर्ने देखिन्छ।
२०८२ जेष्ठ १९, सोमबार