+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कञ्चनपुर: गड्डाचौकी–अत्तरिया सडकखण्ड ४ लेनको बन्ने, २१ अर्ब १९ करोड बजेट विनियोजन

अत्रिदेव खबर
२०८२ जेष्ठ १८, आईतबार

कञ्चनपुर : पूर्व–पश्चिम राजमार्गअन्तर्गतको गड्डाचौकी–अत्तरिया सडकखण्डलाई चार लेनमा स्तरोन्नति गर्नका लागि आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा २१ अर्ब १९ करोड रुपैयाँ विनियोजन गरिएको छ। यसले सुदूरपश्चिमको सडक पूर्वाधार विकासमा महत्त्वपूर्ण फड्को मार्ने विश्वास गरिएको छ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै यो आयोजनाको घोषणा गरेका हुन्। ‘एसियन हाइवे स्ट्यान्डर्ड’ मा बन्ने यो सडक आधुनिक प्रविधि ‘अस्फाल्ट कङ्क्रिट’ प्रयोग गरी निर्माण गरिनेछ। सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर हरिशप्रसाद जोशीले गड्डाचौकीदेखि अत्तरियासम्मको ४९ किलोमिटर सडकको बजेट सुनिश्चित भएपछि आगामी आर्थिक वर्षदेखि स्तरोन्नतिको काम सुरु हुने बताए।

यो आयोजना सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले अलग्गै कार्यालय खोलेर अगाडि बढाउनेछ। निर्माण कार्य सुरु गर्नुअघि विस्तृत आयोजना प्रतिवेदन (DPR), वातावरण प्रभाव मूल्याङ्कन (EIA) लगायतका कार्यहरू पूरा गरिनेछ। त्यसपछि मात्र ठेक्का प्रक्रियामा जाने र आयोजनाको गुणस्तर सुनिश्चित गर्न परामर्शदाता नियुक्त गरिने इन्जिनियर जोशीले जानकारी दिए। यो आयोजना पूरा हुन तीनदेखि पाँच वर्ष लाग्ने अनुमान छ।

वर्षौंदेखि थाँती रहेको सडक स्तरोन्नतिको काम हुने भएपछि यस क्षेत्रका व्यापारी, बुद्धिजीवी र जनप्रतिनिधिहरूले खुसी व्यक्त गरेका छन्। राजनीतिक तथा सामाजिक अगुवा लालबहादुर सिंहले यो सडकले सुदूरपश्चिमको विकासमा ठूलो टेवा पुर्‍याउने बताए। निर्माणाधीन सुक्खा बन्दरगाह बनेपछि बढ्ने ठूला ढुवानीका साधनका लागि फराकिलो सडक आवश्यक भएकोमा बजेटले त्यसलाई सम्बोधन गरेको उनको भनाइ छ। यद्यपि, उनले बजेट कार्यान्वयनको पक्ष बलियो हुनुपर्नेमा जोड दिएका छन्। तत्कालीन झलारी गाविसका अध्यक्ष टेकबहादुर हमालले अहिलेको साँघुरो सडकमा सवारी साधनको चाप अत्यधिक हुँदा दुर्घटना बढ्दै गएको र स्तरोन्नतिपछि यो समस्या समाधान हुने विश्वास व्यक्त गरे।

शुक्लाफाँटा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक रमेशबहादुर ऐरले गड्डाचौकी–अत्तरिया सडकखण्ड नेपाल–भारत व्यापार, पर्यटन र जनसांस्कृतिक आदानप्रदानमा महत्त्वपूर्ण भूमिका खेल्ने सडक रहेको बताए। अत्तरिया सुदूरपश्चिमको प्रमुख यातायात जक्सन भएकाले यस सडकको स्तरोन्नतिले समग्र क्षेत्रको विकासमा योगदान पुग्ने उनको भनाइ छ। झलारी बजारका व्यवसायी मदनराज भट्टले पूर्व–पश्चिम राजमार्गलाई देशकै ‘लाइफलाइन’का रूपमा व्याख्या गर्दै यो स्तरोन्नतिले सवारी चाप घटाउने, दुर्घटनाको जोखिम कम गर्ने, समयको बचत गर्ने र समग्र आर्थिक, सामाजिक, सांस्कृतिक तथा क्षेत्रीय राष्ट्रिय विकासको आधार बन्ने बताए।

पूर्व–पश्चिम राजमार्गको चिसापानी–गड्डाचौकी सडकखण्ड भारत सरकारको सहयोगमा सन् १९९६ मा सुरु भई सन् २००० मा सम्पन्न भएको थियो, जसमा सडकसँगै २२ वटा पुल पनि निर्माण भएका थिए। यो नयाँ स्तरोन्नतिले त्यसको निरन्तरतामा थप बल पुग्ने देखिन्छ।

२०८२ जेष्ठ १८, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १८, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ