+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्रपति पौडेलको गणतन्त्र दिवस सन्देश: ‘ढिलासुस्ती र बेथिति गणतन्त्रका शत्रु’, शासकीय चरित्र बदल्न आह्वान

अत्रिदेव खबर
२०८२ जेष्ठ १५, बिहिबार

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवस, २०८२ को अवसरमा शुभकामना दिँदै गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति भएको बताएका छन्।

राष्ट्रपति पौडेलले गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न राजनीतिक उपलब्धि मात्र पर्याप्त नहुने भन्दै शासकीय चरित्र, राजनीति, पार्टी र नेताको चरित्र बदल्नुपर्नेमा जोड दिएका छन्। उनले भनेका छन्, “गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न।”

नागरिकलाई निराश बन्ने अवस्था आउन नदिने गरी काम गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपतिले सुशासनसहितको समृद्धि, रोजगारी, अवसर र स्रोतसाधनको न्यायोचित वितरण तथा सामाजिक न्यायको प्रबन्ध नागरिकले खोजेको बताएका छन्। उनले आर्थिक विकासबिना यी केही पनि सम्भव नभएकाले सबैलाई गम्भीर भएर लाग्न आह्वान गरेका छन्।

स्रोतहरूको उच्चतम प्रयोग गरी कृषि, पर्यटन, ऊर्जा लगायतका क्षेत्रलाई बलियो बनाएर आर्थिक विकास र समृद्धि हासिल गर्न सके मात्र गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न सकिने र नयाँ आशाहरू निर्माण हुने राष्ट्रपति पौडेलको भनाइ छ।

राष्ट्रपति पौडेलले गणतन्त्रलाई केवल राजनीतिक व्यवस्था मात्र नभएर आचरणशील राजनीति, आर्थिक र सामाजिक जीवन पद्धति पनि भएको उल्लेख गरेका छन्। उनले यसका मूल्यमान्यता र नैतिक दायराहरूलाई नभुली ऐतिहासिक अभिभारा पूरा गर्नुपर्नेमा जोड दिए। उनले गणतन्त्रको मर्यादा बचाउन र यसलाई अझ समृद्ध बनाउन सबै एकताबद्ध भएर लाग्ने विश्वास व्यक्त गर्दै गणतन्त्र दिवसले सामाजिक न्याय, विकास र समृद्धिसहित संघीय लोकतान्त्रिक गणतन्त्रको उच्चतम अभ्यासका लागि थप प्रेरणा दिने बताए।

२०८२ जेष्ठ १५, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १५, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ