काठमाडौं : भिजिट भिसा प्रकरणमा गम्भीर आरोप लागेका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलनिकट विद्यार्थी संगठनहरूले माइतीघरमा सशक्त विरोध प्रदर्शन गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा भिजिट भिसामा खाडी मुलुक र युरोप जाने नेपालीहरूबाट दैनिक ५० लाख बढी घुस लिइएको र यसमा गृहमन्त्रीको प्रत्यक्ष संलग्नता रहेको उनीहरूले दाबी गरेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल अध्यागमन कार्यालयमा छापा मार्दै त्यहाँ कार्यरत सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले गृहमन्त्री रमेश लेखकलाई नै भिजिट भिसामा नेपालीहरूलाई विदेश पठाएबापत दैनिक ५० लाख बुझाउने गरेको बयान दिएको खुलासा भएपछि विद्यार्थी संगठनहरू झनै आक्रोशित बनेका छन्।
देशकै गृहमन्त्रीजस्तो जिम्मेवार व्यक्ति प्रत्यक्ष संलग्न भएर दैनिक लाखौँ घुस लिई नेपालीहरूलाई विदेश पठाउनु ‘मानव बेचबिखन’ र ‘देशद्रोह’ भएको विद्यार्थी संगठनको ठहर छ। उनीहरूले ओली सरकारले अख्तियारको दुरुपयोग गर्दै मानव बेचबिखन र देशद्रोहमा मुछिएका गृहमन्त्री रमेश लेखक र दोषी कर्मचारीहरूलाई तत्काल बर्खास्त गरी कारबाही गर्नुको साटो संरक्षण गरिरहेको गम्भीर आरोप लगाएका छन्।
प्रदर्शनकारी विद्यार्थीहरूले गृहमन्त्री रमेश लेखक तथा यस मानव बेचबिखन र देशद्रोहमा संलग्न सबैलाई तत्काल बर्खास्त गरी पक्राउ र कारबाही गर्न सशक्त माग गरेका छन्। यो प्रकरणले सरकारको निष्ठामाथि गम्भीर प्रश्न उठाएको छ र यसको छिटो र निष्पक्ष छानबिनको माग तीव्र बनेको छ।
२०८२ जेष्ठ १३, मंगलबार