काठमाडौँ : सरकारले निजामती प्रशासनमा ठूलो फेरबदल गर्दै विशिष्ट श्रेणीका ८ जना सचिवहरूको सरुवा गरेको छ भने दुई जनालाई सचिव पदमा बढुवा गरेको छ। सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा नयाँ नेतृत्व पठाउने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को निर्णय अनुसार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रशासनतर्फका सचिव हरिप्रसाद मैनालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ। यस्तै, लोक सेवा आयोगका सचिव डिल्लीराम शर्मालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रशासनतर्फको जिम्मेवारी दिइएको छ। संस्कृति मन्त्रालयमा गत वैशाख २५ गते सचिव पद रिक्त थियो।
राष्ट्रपति कार्यालयका सचिव डा. रामप्रसाद घिमिरेलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य सचिवमा सरुवा गरिएको छ भने सोही मन्त्रालयको वाणिज्य सचिव गोविन्दबहादुर कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दीपक काफ्लेलाई राष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चूडामणि पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ।
त्यसैगरी, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव किरणराज शर्मालाई लोक सेवा आयोगको सचिवमा सरुवा गरिएको छ। गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम विष्टलाई महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरिएको छ, जहाँ सचिव पद रिक्त रहेको थियो।
बैठकले प्रशासनतर्फको रिक्त सचिव पदमा भूपाल बराललाई बढुवा गर्दै बागमती प्रदेशको मुख्यसचिवमा पदस्थापन गरेको छ। यता, प्राविधिकतर्फको रिक्त सचिव पदमा दीनानाथ शर्मालाई बढुवा गरी जल तथा ऊर्जा आयोगमा पदस्थापन गरिएको छ। अघिल्लो मन्त्रिपरिषद् बैठकबाट सचिवमा बढुवा भएका शोभाकान्त पौडेललाई गण्डकी प्रदेशको प्रमुख सचिव बनाइएको छ।
बागमती प्रदेशमा नवनियुक्त सचिव बराललाई पठाएपछि त्यहाँ रहेका प्रमुख सचिव महादेव पन्थलाई हाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको र केही दिनमा अर्को जिम्मेवारीमा पठाइने बताइएको छ। सरकारको यो व्यापक प्रशासनिक फेरबदलले कार्यसम्पादनमा कस्तो प्रभाव पार्छ, त्यो भने आगामी दिनमा देखिनेछ।
२०८२ जेष्ठ १३, मंगलबार