+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गृहमन्त्री लेखकको ‘भिजिट भिसा’ प्रकरणले कांग्रेसमा खैलाबैला: आज पदाधिकारी बैठक

अत्रिदेव खबर
२०८२ जेष्ठ १२, सोमबार

काठमाडौ :  गृहमन्त्री रमेश लेखकमाथि लागेको ‘भिजिट भिसा’ प्रकरणको आरोपले सत्तारुढ नेपाली कांग्रेसभित्रै हलचल मच्चिएको छ। आज सोमबार बिहान ९ बजे सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा बस्ने पार्टी पदाधिकारी बैठकमा यो विषयले प्राथमिकता पाउने देखिएको छ।

बैठकमा गृहमन्त्री लेखकको संलग्नताबारे नेताहरूले प्रश्न उठाउने र सभापति देउवाले जवाफ दिने कार्यक्रम रहेको बुझिएको छ। कांग्रेसका नेताहरूले ‘भिजिट भिसा’ को आवरणमा मानव तस्करी गराउने गिरोहलाई संरक्षण दिएको र त्यसबाट ठूलो रकम लाभ लिएको आरोप लेखकमाथि लगाएका छन्। पार्टीभित्रैबाट लेखकले राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने चर्को दबाब छ।

यस प्रकरणले कांग्रेसलाई गम्भीर सकसमा पारेको छ। आइतबार बसेको सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेको सचिवालय बैठकमा समेत यो विषय उठेको थियो। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले यस सम्बन्धमा गृहमन्त्रीकै दल कांग्रेसले निर्णय गर्नुपर्ने धारणा राखेका छन्।

गृहमन्त्री लेखकको राजीनामाको माग पार्टीभित्रैबाट उठ्नु र प्रमुख सत्तारुढ दलको बैठकमा समेत यो विषयले प्रवेश पाउनुले यस प्रकरणको गम्भीरतालाई दर्साउँछ। कांग्रेसको पदाधिकारी बैठकले यस विषयमा के निर्णय लिन्छ, त्यो भने हेर्न बाँकी छ।

बैठकमा ‘भिजिट भिसा’ प्रकरणका अलावा अन्य समसामयिक राजनीतिक विषय, पार्टीका भ्रातृ संस्था र क्रियाशील सदस्यता वितरणलगायतका एजेन्डामा पनि छलफल हुने कांग्रेस नेताहरूले बताएका छन्।

२०८२ जेष्ठ १२, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १२, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ