पोखरा : पोखराको शान्त मौसम अहिले झन् तातेको छ। राष्ट्रिय युवा संघ नेपालको दशौं महाधिवेशन राजनीतिक युद्धभूमिमा रुपान्तरण भएको छ। अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीबीचको ‘पावर शो’ ले महाधिवेशनस्थललाई ठूला राजनीतिक खेलको अखडा बनाएको छ।
शनिबार दिउँसो, महाधिवेशनस्थलमा क्षितिज थेबे समर्थकहरूको नाराबाजीले माहोल एकाएक तात्यो—”क्षितिज नै अबको अध्यक्ष!” भन्दै उर्लिएका नाराहरूले पार्टी पंक्तिलाई चिसो पसिना झार्ने बनायो। तर त्यो क्षण टिक्न नपाउँदै अर्कोतर्फबाट महासचिव सुमन पुरीका समर्थकहरू जुलुससहित प्रचण्ड नारासहित प्रवेश गरे—”पुरी हाम्रो अडान हो, अध्यक्ष हाम्रो पहिचान हो!”
श्रोत भन्छ प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली आफैंले अध्यक्षमण्डललाई थेबेलाई दोहोर्याउन स्पष्ट निर्देशन दिएका छन्। तर पुरी गम्भीर रूपमा आक्रोशित छन्। उनी यति अडिग छन् कि ‘योपटक अध्यक्ष म नभएसम्म संघमा सूर्य उदाउने छैन’ भन्ने भावनामा छन्।
भित्रभित्रै चलिरहेको यो द्वन्द्वको रफ्तार यति तीव्र छ कि सत्ताको भूकम्प महाधिवेशनको मञ्चबाट केन्द्रमै धक्का पु¥याउने संकेत देखिन थालेको छ। एक पक्षले ओलीको आदेशलाई ‘अन्तिम सत्य’ मानिरहेकै बेला, अर्कोतर्फ पुरी पक्ष ‘लोकतान्त्रिक प्रतिरोध’ को नारामा अडिएको देखिन्छ।
सवाल एक मात्र हो—युवासंघको बागडोर अबको पुस्ताले चलाउने कि सत्ताले चलाउने?
पोखराको यो महाधिवेशन केवल संगठनको नियमित प्रक्रिया मात्र होइन—यो एमालेभित्रको नेतृत्व, विश्वास र भावी रणनीतिको निर्णायक घडी बनेको छ। राजनीतिक इतिहासले अबको केही घण्टा हेर्न आतुर छ—जीत थेबेले गर्लान् कि पुरीले उल्ट्याउनेछन् बाजी?
२०८२ जेष्ठ १०, शनिबार