काठमाडौं : नेपाल राष्ट्र बैंकमा गभर्नर पदको प्रतिस्पर्धाले कतिपय कार्यकारी निर्देशकहरूको करिअरमा अनपेक्षित मोड ल्याएको देखिएको छ । पछिल्लो घटनाक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ ले ५८ वर्षे उमेर हदका कारण अवकाश पाएका छन् । उनले यसअघि नै गभर्नर बन्नका लागि कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए, तर त्यो स्वीकृत भएको थिएन ।
जेठ १० गते (आज) देखि अवकाश पाएका श्रेष्ठले गभर्नर पदका लागि आफूले राजीनामा दिएको स्वीकार गरे । उनले नेपालखबरसँगको कुराकानीमा भने, ‘राष्ट्र बैंककै क्याडर रहेको, जागिरको उत्तरार्धतिर गभर्नरको पद खाली हुन लागेको अवस्थामा नेपाल सरकारले गभर्नरका लागि मौद्रिक अर्थशास्त्री आवश्यक ठानेमा कानुनी र व्यावहारिक समस्या नरहोस् भनेर समयमा नै राजीनामा दर्ता गराएको थिएँ । तर आवश्यक नपर्ने बुझिएपछि राजीनामा निष्क्रिय रहेको हो।’
श्रेष्ठले राष्ट्र बैंकमा २७ वर्ष सेवा गरे । यद्यपि, उनी अहिले पनि सार्वजनिक सेवामै सक्रिय रहेको दाबी गर्छन् । उनले आफू गत साउनदेखि नै राष्ट्रिय योजना आयोगको सदस्यको महत्वपूर्ण जिम्मेवारीमा रहेको बताए । ‘आफ्नो बुद्धि र विवेकले भ्याएसम्म यस संस्थाको जिम्मेवारी निर्वाहको भूमिका खेलिरहेको छु, थप अनुभव पनि भइरहेको छ,’ उनले भने, ‘थप प्रभावकारिताका लागि यस संस्थाको राम्रै पुन:संरचना गर्नुपर्ने देख्छु । भोलिका दिनमा सार्वजनिक सेवामा नरहे पनि शैक्षिक, बौद्धिक, सामाजिक, व्यावसायिक काम गरेर देशलाई प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्न सक्ने देख्छु । खुला आकाशमा विचरणको पनि मजै आउने छ ।’ उनले आफूबारे केही मिडियामा भ्रामक समाचार आएकोमा गुनासो पनि पोखे ।
गुणाकर भट्टको राजीनामा र गभर्नरको निर्णय
उता, गभर्नर पदकै लोभमा गुणाकर भट्टले पनि राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा पनि हालसम्म स्वीकृत भएको छैन । तत्कालीन कायम मुकायम गभर्नर नीलम ढुंगानाले नयाँ गभर्नरले नै यस विषयमा निर्णय गर्ने भन्दै राजीनामा स्वीकृत गरेकी थिइनन् । सरकारले डा. विश्वनाथ पौडेललाई गभर्नरमा नियुक्त गरिसकेको छ । अब भट्टको राजीनामा स्वीकृत गर्ने वा नगर्ने निर्णय नवनियुक्त गभर्नर पौडेलले नै गर्नेछन् । राष्ट्र बैंक स्रोतका अनुसार, गभर्नर पौडेल भट्टलाई पुनः राष्ट्र बैंकमै फर्काउने मनसायमा छन् । तर, भट्ट फर्किन नचाहेको खण्डमा भने उनको राजीनामा स्वीकृत हुनेछ । गभर्नर बन्ने मौका गुमाएका भट्ट यतिबेला अमेरिकामा छन् । यी घटनाक्रमले नेपाल राष्ट्र बैंकभित्रको आन्तरिक शक्ति समीकरण र उच्च पदका लागि हुने प्रतिस्पर्धालाई उजागर गरेको छ ।
२०८२ जेष्ठ १०, शनिबार