बर्दघाट : पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड फेरि भासिएको छ । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण बर्दघाट नगरपालिका–४ खुर्सानी खोला नजिकको सडक करिब ७ मिटर भासिएपछि पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।
रुपन्देही र नवलपरासी जोड्ने यो महत्वपूर्ण मार्गमा पछिल्लो समय सामान्य वर्षामा पनि सडक चिप्लिने, पहिरो खस्ने वा भासिनेजस्ता समस्याले यात्रुले बारम्बार सास्ती भोग्दै आएका छन् । सडक स्तरोन्नतिका क्रममा गरिएको ढलानसमेत उप्किएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र बानियाँले जानकारी दिए । उनले शुक्रबारदेखि अवरुद्ध सडक शनिबार बिहानसम्म पनि खुल्न नसकेको बताए ।
शनिबार बिहानसम्म पनि सामान्य वर्षा भइरहेकाले मर्मतमा कठिनाइ भएको छ । पानी रोकिएलगत्तै सडक डिभिजन कार्यालय र निर्माण कम्पनीसँग समन्वय गरेर सडक सञ्चालनमा ल्याउने पहल भइरहेको बानियाँले बताए । गएरातिदेखि सडक पूर्णरूपमा बन्द हुँदा पूर्वपश्चिम यातायातमा व्यापक असर परेको छ । अहिले पश्चिमबाट पूर्वतर्फ जाने सवारीसाधन बर्दघाटमा रोकिएका छन् भने पूर्वबाट पश्चिमतर्फ जाने सवारी दुम्किबासस्थित ज्यामिरेमा रोकिएका छन् ।
२०८२ जेष्ठ १०, शनिबार