पोखरा : प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार र मुलुकको स्वाधीनताको रक्षा गर्न एमाले सदैव अग्रपंक्तिमा रहने स्पष्ट घोषणा गर्नुभएको छ। राष्ट्रिय युवा संघ नेपालको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले प्रतिगमनका सबै कुचेष्टाविरुद्ध दृढताका साथ उभिनुपर्ने आवश्यकता औंल्याउनुभयो।
पूर्वराजा ज्ञानेन्द्र शाहको राजतन्त्र फर्कने भविष्यवाणीका सन्दर्भमा बोल्दै ओलीले भने, “राजाको कुण्डली हेरेर मात्रै हुँदैन, जनताको कुण्डली पनि हेर्नुपर्छ। नेपाली जनताले एक पटक फालिसकेको राजतन्त्र अब फर्कने छैन। हामी प्रतिगमनविरुद्ध लड्ने अठोटका साथ मैदानमा छौं।”
प्रधानमन्त्री ओलीले पछिल्लो समय प्रतिगमनको नाममा फैलाइएका हल्लाहरूमाथि कटाक्ष गर्दै भने, “प्रधानमन्त्री भाग्न हेलिकोप्टर तयारी गरिएको भन्ने जस्ता हास्यास्पद आरोपहरूको धज्जी उडाइनेछ। एमाले र यसको भ्रातृ संगठन युवा संघ यस्ता षड्यन्त्र रोक्न अग्रसर रहनेछ।”
उहाँले एमालेलाई चौतर्फी आक्रमण भैरहेको बताउँदै पार्टी सही नीतिमा अग्रसर रहेको र सुशासन तथा विकासमा कटिबद्ध रहेको स्पष्ट पार्नुभयो। “एमालेले गल्ती गरेको भए आज जुन स्थानमा छ, त्यो स्थानमा पुग्न सक्दैनथ्यो,” उहाँको भनाइ थियो।
राजनीतिक स्थिरताको सन्दर्भमा प्रधानमन्त्री ओलीले हालको सरकार स्थिरता र सुशासनका लागि बनेको भन्दै १४ महिनापछि काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गरिने जानकारी दिनुभयो।
भ्रष्टाचार विरुद्धको आफ्नो अडान दोहोर्याउँदै ओलीले कसैको अनुहार नहेरी शून्य सहनशीलताका साथ कारबाही हुने बताए।
युवा संघलाई एकजुट भएर सर्वसम्मत नेतृत्व निर्माणको आह्वान गर्दै अध्यक्ष ओलीले नेतृत्वको लागि लुछाचुँडी नगर्न, आवश्यक परे स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो।
महाधिवेशन उद्घाटन समारोहमा पार्टी महासचिव शंकर पोखरेल, उपमहासचिव तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्याल, नेताहरू भानुभक्त ढकाल, महेश बस्नेत, राजीव पहारी, निरुदेवी पाल, किरण पौडेललगायतको उपस्थिति रहेको थियो।
२०८२ जेष्ठ ९, शुक्रबार