+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चीनमा पूर्वराष्ट्रपति भण्डारीको ‘कूटनीतिक पहल’: महत्त्वपूर्ण संवाद र उच्चस्तरीय भेटको अपेक्षा

अत्रिदेव खबर
३ हप्ता अगाडी

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शनिबारदेखि सुरु हुने चीन भ्रमणका क्रममा जेठ १५ गते डुनहुङ शहरमा एक ‘उच्चस्तरीय चिनियाँ नेता’ सँग भेट गर्ने कार्यक्रम तय भएको छ। गणतन्त्र दिवसको अवसरमा पर्ने यस महत्त्वपूर्ण दिनमा हुन लागेको भेटबारे काठमाडौंस्थित चिनियाँ दूतावासले नाम खुलाउन नचाहे पनि, यसले नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

नेपाल प्रेसलाई प्राप्त कार्यक्रम तालिका अनुसार, जेठ १५ गतेको उक्त भेटघाटलाई ‘चीनका वरिष्ठ नेताले आयोजना गर्ने स्वागत कार्यक्रम’ भनी उल्लेख गरिएको छ। यस कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका पदाधिकारी, त्यहाँको विदेश मन्त्रालय र चिनियाँ सरकारका अन्य उच्च अधिकारीहरूको उपस्थिति रहने बताइएको छ। काठमाडौंस्थित चिनियाँ दूतावास स्रोतले उच्चपदस्थ व्यक्तिहरू सहभागी हुने कार्यक्रम तालिकामा उनीहरूको नाम उल्लेख नगर्ने चिनियाँ प्रचलन रहेको जानकारी दिएको छ। यसले भेटको महत्त्वलाई झनै बढाएको छ।

पूर्वराष्ट्रपति भण्डारीले भ्रमणका क्रममा दुईवटा महत्त्वपूर्ण कार्यक्रममा प्रमुख अतिथिका रूपमा मन्तव्य व्यक्त गर्नेछिन्। सोमबार आयोजना हुने चीनका विभिन्न छिमेकी राष्ट्रबाट निम्त्याइएका राजनीतिक दलका प्रतिनिधिहरूबीचको संवाद कार्यक्रममा उनी प्रमुख अतिथि रहनेछिन्। सोही हैसियतले उनले मन्तव्य व्यक्त गर्ने कार्यक्रम तालिकामा उल्लेख छ। त्यस्तै, शुक्रबार नागरिकस्तरको अनुभव आदानप्रदान र पारस्परिक सिकाईसम्बन्धी चौथो संवाद कार्यक्रममा पनि उनले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नेछिन्। यी दुवै कार्यक्रममा उनको उपस्थिति र सम्बोधनले नेपालको कूटनीतिक सक्रियतालाई थप उचाइ दिने अपेक्षा गरिएको छ।

पूर्वराष्ट्रपति भण्डारीको नेतृत्वमा १४ सदस्यीय उच्चस्तरीय भ्रमणदल चीनतर्फ प्रस्थान गर्दैछ। यो टोली शनिबार राति एयर चाइनाको उडान नम्बर सीजेड ३०६८ मार्फत ग्वाङ्झाओ हुँदै आइतबार बिहान ११ः५ बजे राजधानी बेइजिङमा अवतरण गर्नेछ। भ्रमणदलमा सहभागी विभिन्न राजनीतिक व्यक्तित्वहरूलाई समेत विभिन्न कार्यक्रममा महत्त्वपूर्ण भूमिका दिइएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, पूर्वमन्त्री रघुवीर महासेठ र कर्णबहादुर थापालाई विषय तोकेरै वक्ताका रूपमा राखिएको छ।

विभिन्न क्षेत्रमा नेपालको प्रतिनिधित्व

सोमबार आयोजना हुने विभिन्न देशका राजनीतिक दलका प्रतिनिधिहरूबीचको संवाद कार्यक्रममा यी महत्त्वपूर्ण व्यक्तित्वहरूले आफ्नो मन्तव्य राख्नेछन्। मन्त्री दामोदर भण्डारीले ‘उच्चस्तरीय खुलापन र एसियाको एकीकृत विकास कार्यक्रम’ बारे मन्तव्य व्यक्त गर्नेछन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका पूर्वमन्त्री रघुवीर महासेठले ‘रणनीतिक पारस्परिक विश्वास सुदृढीकरणका लागि संवाद र परामर्श’ शीर्षकमा आफ्नो धारणा राख्नेछन्। अर्का पूर्वमन्त्री कर्णबहादुर थापाले ‘फरक फरक देशका नागरिकस्तरमा अनुभव आदानप्रदानलाई विस्तार गर्ने’ विषयमा मन्तव्य दिने कार्यक्रम छ।

यसका अतिरिक्त, मन्त्री भण्डारीले मंगलबार चाइना काउन्सिल फर दी प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) का नेतासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। भ्रमणदलका अर्का सहभागी सार्वजनिक सेवा प्रसारण (पीएसबी) का कार्यकारी अध्यक्ष महेन्द्र विष्टले मंगलबार नै चाइना मिडिया ग्रुप (सीएमजी) का प्रतिनिधिसँग भेट्ने कार्यक्रम रहेको छ। यसले दुई देशबीचको व्यापारिक सम्बन्ध र सञ्चार क्षेत्रमा सहकार्यका सम्भावनाहरूलाई थप उजागर गर्नेछ।

भ्रमणदलमा को-को?

१. रघुवीर महासेठ, विदेश विभाग प्रमुख, नेकपा एमाले २. दामोदर भण्डारी, मन्त्री– उद्योग, वाणिज्य तथा आपूर्ति ३. कर्णबहादुर थापा, स्थायी कमिटी सदस्य, नेकपा एमाले ४. गोमा देवकोटा, केन्द्रीय सल्लाहकार, नेकपा एमाले ५. देवीप्रकाश भट्टचन, प्रतिनिधिसभा सदस्य ६. कैलाशकुमार भण्डारी, केन्द्रीय कार्यकारिणी सदस्य, मदन भण्डारी फाउण्डेशन ७. भेषराज अधिकारी, केन्द्रीय कार्यकारिणी सदस्य, मदन भण्डारी फाउण्डेशन ८. विनय केसी, केन्द्रीय कार्यकारिणी सदस्य, मदन भण्डारी फाउण्डेशन ९. महेन्द्र विष्ट, कार्यकारी अध्यक्ष, सार्वजनिक सेवा प्रसारण (पीएसबी) १०. राजेश प्रसाईं, पूर्वरजिष्ट्रार, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ११. कल्याणराज शर्मा, महासचिव, फ्रेण्ड अफ स्किल रोड क्लब नेपाल १२. टेकबहादुर खड्का, क्यामेरा पर्सन, नेपाल टेलिभिजन १३. मधु शाही, क्याप्टेन, नेपाली सेना १४. सरस्वती जिरेल, निजी सुरक्षा

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ