काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी र ठगीको संगठित जालो उच्च तहबाटै सञ्चालित रहेको डरलाग्दो प्रारम्भिक निष्कर्ष निकालेको छ। अख्तियारले विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईसहित चारजनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेपछि यो ‘ठूलो खेल’ को पर्दाफास भएको हो।
वैदेशिक रोजगार व्यवसायी, ट्राभल एजेन्सी र सरकारी कर्मचारीको मिलेमतोमा यो गिरोहले काम गरिरहेको अख्तियारको भनाइ छ। सहसचिव भट्टराईलाई अख्तियारले ‘प्यादा’ मात्रै भएको भन्दै यो जालो शक्तिशाली पदाधिकारीको पहुँच प्रयोग गरेर ‘सेटिङ’मै सञ्चालन भइरहेको दाबी गरेको छ।
श्रमिकलाई गैरकानुनी रूपमा श्रममा लगाउने यो गिरोहले वैदेशिक रोजगारका सबै प्रक्रिया छलेर भिजिट भिसामा युवाहरूलाई विदेश पठाइरहेको छ। यसले एकातिर श्रमिकहरूलाई जोखिममा पारेको छ भने अर्कातिर राज्यलाई ठूलो राजस्व घाटा भइरहेको छ। अख्तियारका अनुसार खाडी मुलुक जानेसँग प्रतिव्यक्ति ५० हजार र युरोपेली देश जानेसँग ३ लाख रुपैयाँसम्म असुलेर यो रकम विभिन्न तहमा बाँडीचुँडी हुने गरेको खुलेको छ।
कहाँसम्म पुग्छ यो ‘सेटिङ’को तार?
अख्तियारले यो रकम उच्च राजनीतिक र प्रशासनिक तहसम्म पुग्ने गरेको सुराक पाइसकेको जनाएको छ। मोबाइल नियन्त्रणमा लिएर फरेन्सिक ल्याबमा पठाइएको र अन्य प्रमाण संकलनको काम तीव्र पारिएको अख्तियारले बताएको छ। अनुसन्धान सकिएपछि थप ‘डरलाग्दा तथ्य’ बाहिर आउने अख्तियारको दाबी छ।
पुरानो ‘दाग’ लागेका भट्टराई फेरि अख्तियारको फन्दामा
२०७२ सालको महाभूकम्पका बेला त्रिपाल घोटालामा मुछिएका यिनै तीर्थराज भट्टराई तत्कालीन काठमाडौँ जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी (एलडीओ) थिए। विशेष अदालतबाट सफाइ पाए पनि उनको विगतको ‘दाग’ ले अहिलेको घटनालाई थप शंकास्पद बनाएको छ। गृहमन्त्री रमेश लेखकले उनलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा पठाएको खुलासा पनि भएको छ। यो घटनाले नेपालको अध्यागमन प्रणाली र वैदेशिक रोजगार क्षेत्रमा व्याप्त भ्रष्टाचारको भयावह चित्र प्रस्तुत गरेको छ। के यो ‘सेटिङ’को जालोको अन्त्य होला त?
२०८२ जेष्ठ ९, शुक्रबार