काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवालाई राजसंस्थाको पक्षमा उभ्याएर फैलाइएको भ्रामक प्रचारप्रति तीव्र असन्तुष्टि जनाएको छ। पार्टीले एक विज्ञप्ति जारी गर्दै यसलाई ‘कपोलकल्पित र अनैतिक’ कार्यको संज्ञा दिएको छ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा स्पष्ट भनिएको छ, “ऐतिहासिक जनआन्दोलन २०६२/६३ मा नेपाली जनताको अभूतपूर्व त्याग र बलिदानबाट प्राप्त उपलब्धि अर्थात् संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको संरक्षण र सम्वद्र्धन गर्दै नागरिकहरूलाई पूर्ण स्वतन्त्रता, समानता र सामाजिक न्याय सहितको लोकतान्त्रिक व्यवस्थाका लागि सभापति देउवाले सदैव नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहनु भएको छ।” यसबाट देउवा गणतन्त्र र लोकतन्त्रप्रति प्रतिबद्ध रहेको स्पष्ट सन्देश गएको छ।
विज्ञप्तिले कुनै पनि व्यक्तिले क्षणिक स्वार्थका लागि आमसञ्चार माध्यमको दुरुपयोग गर्दै देउवाले कहिँ कतै नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगढन्ते ढंगले प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावना विपरीत भएको ठहर गरेको छ। कांग्रेसले यस्ता भ्रामक र कपोलकल्पित समाचारको घोर निन्दा र भत्र्सना गरेको छ।
पार्टीले सम्पूर्ण नागरिकहरूलाई यस्ता भ्रामक समाचारहरूमा विश्वास नगर्न अपिल गर्दै आन्दोलनबाट प्राप्त सम्पूर्ण उपलब्धिहरूको रक्षा गर्न कांग्रेस प्रतिवद्ध रहेको दोहोर्याएको छ। यो विज्ञप्तिले राजसंस्थाको विषयमा देउवामाथि भइरहेको अफवाहपूर्ण प्रचारलाई पूर्णविराम लगाउने प्रयास गरेको छ।
२०८२ जेष्ठ ८, बिहिबार