घोडाघोडी : उज्यालो फाउन्डेसनको आयोजनामा शनिबार घोडाघोडी नगरपालिकामा एक-दिने फेमिनिस्ट सम्मेलन (One-Day Feminist Conference – OFC) सम्पन्न भएको छ। सम्मेलनमा किशोरी, महिला तथा लैंगिक विविधता भएका व्यक्तिहरूको नेतृत्व, पहुँच र सहभागितामा आधारित सामाजिक रूपान्तरणबारे गहिरो छलफल भएको थियो।
कार्यक्रमको प्रमुख उद्देश्य महिलाहरूको सामाजिक, आर्थिक, राजनीतिक सहभागिता तथा नेतृत्व विकास गर्दै समावेशी समाज निर्माणतर्फ लैजानु रहेको आयोजक संस्थाले बताएको छ। ‘समताको उज्यालो यात्रा ,समाबेशी पुस्ताको नेतृत्व ’ भन्ने नारासहित आयोजित सम्मेलनमा युवाहरूले समाजमा गहिरिएर रहेको लैंगिक असमानता, पितृसत्तात्मक सोच र स्थानीय नेतृत्वमा पहुँचको चुनौतीहरूबारे अनुभव साटासाट गरेका थिए।
कार्यक्रम उद्घाटन गर्दै घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावतले स्थानीय सरकार किशोरी तथा महिलामैत्री नीतिहरू कार्यान्वयनमा दृढ रहेको बताए। उनले भने, “यस्ता कार्यक्रमहरूले समुदायमा लैंगिक रूपान्तरणको चेतना बढाउँछ र किशोरी तथा महिलालाई नेतृत्वमा सशक्त बनाउन सघाउँछ।”
उज्यालो फाउन्डेसनकी संस्थापक तथा कार्यक्रम निर्देशक अमुदा मिश्रले कार्यक्रममा स्वागत मन्तव्य दिँदै ‘आन्दोलन वा अभियान एउटै सोचका साथ अघि बढ्दा मात्र प्रभावकारी परिणाम आउँछ’ भन्ने धारणा राखिन्। उनले सामाजिक न्याय र समानताको सवालमा एकजुट हुन सबैलाई आग्रह गरिन्।
सम्मेलनमा उपस्थित किशोरी, महिला तथा समुदायका अगुवा सहभागीहरूले आफ्ना अनुभवहरू साझा गर्दै शिक्षा, स्वास्थ्य, रोजगार, लैंगिक हिंसा, बालविवाह, तथा स्थानीय नेतृत्वमा महिलाको सहभागिता लगायत विविध विषयमा समूहगत छलफल गरेका थिए।
कार्यक्रमले स्थानीय तहमा लैंगिक समानता र किशोरी नेतृत्वलाई संस्थागत गर्न बल पुर्याउने विश्वास आयोजकले व्यक्त गरेको छ।
२०८२ जेष्ठ ७, बुधबार