+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आलोचनाबाट नायिका बनेकी इन्दु: नेपाली महिला क्रिकेटको ऐतिहासिक सफलता

अत्रिदेव खबर
२०८२ जेष्ठ ५, सोमबार

काठमाडौं :  महिला क्रिकेटमा नेपाली टोलीको कप्तानी गरिरहेकी इन्दु बर्मा कुनै समय सामाजिक सञ्जालमा आलोचनाको केन्द्रमा थिइन्। नेपाली टोलीले सुखद नतिजा ल्याउन नसक्दा उनलाई गालीको वर्षा सहनुपर्‍यो। तर, समयले उनको क्षमताको वास्तविकता प्रमाणित गरिदियो।

थाइल्याण्डमा सम्पन्न महिला टी-२० विश्वकप एसिया छनोटमा कप्तान इन्दु बर्माकै सुझबुझपूर्ण ब्याटिङको कारण नेपालले ऐतिहासिक सफलता हात पार्न सफल भएको छ। नेपालले पहिलो पटक महिला टी-२० विश्वकपको ग्लोबल छनोटमा स्थान पक्का गर्दै नयाँ इतिहास रचेको हो।

नेपालले छनोट चरणमा ३ खेलमा जित निकाल्दा एक खेलमा हार बेहोर्नुपर्‍यो भने अर्को खेल वर्षाका कारण प्रभावित भयो। तर, सबै ४ खेलमा इन्दुको प्रदर्शन उत्कृष्ट रह्यो। चार वटै इनिङमा उनले नटआउट रहँदै आफ्नो जिम्मेवारी पूरा गरिन्। अन्य ब्याटर क्रिजमा जम्न नसकेका अवस्थामा पनि इन्दुले सुझबुझपूर्ण र धैर्यतापूर्वक खेल्दै नेपालको जितको आधार तयार गरिन्।

बहराइनविरुद्धको पहिलो खेलमा ७ र दोस्रो खेलमा २४ रनमा अविजित रहेकी इन्दुले सुपर—३ को ढोका खोल्न महत्वपूर्ण योगदान दिइन्। त्यस्तै, सोमबार भएको युएईविरुद्धको ऐतिहासिक जितमा इन्दु नायक बनिन्। उनले २८ बलमा अविजित ३० रन बनाउँदै नेपाललाई ऐतिहासिक उपलब्धि दिलाइन्। यसै खेलमा इन्दु ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। तर, उत्कृष्ट खेल भावना प्रदर्शन गर्दै उक्त अवार्ड उनले ४ विकेट लिएकी मनिषा उपाध्यायलाई सुम्पिन।

कप्तानको हैसियतमा मात्र नभई सच्चा खेलाडीको रूपमा आफूलाई प्रमाणित गरेकी इन्दु बर्माको यो सफलताले आलोचकहरूलाई समेत नयाँ सोच्न बाध्य बनाएको छ। खेलमा कहिलेकाहीँ नतिजा राम्रो नआउँदा पनि संयम र आत्मविश्वासका साथ मैदानमा उत्रने इन्दुको साहसले नेपाली महिला क्रिकेटको गरिमा बढाएको छ।

इन्दु भन्छिन्, “कुनै पनि असफलता अन्तिम हुँदैन। निरन्तरता र मेहनतले सफलताको बाटो खोल्छ।” अहिले नेपाली महिला क्रिकेट टोलीको यो ऐतिहासिक सफलतासँगै इन्दुको नायकत्वले नेपाली क्रिकेटप्रेमीको मन जित्न सफल भएको छ।

२०८२ जेष्ठ ५, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ ५, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ