काठमाडौं ः आज बिहान बल्खुस्थित मदन नगर फेरि एकपटक सम्झनाको केन्द्र बन्यो । तर यो केवल फूलमालाको औपचारिकता वा तस्वीरसंगै खिचिएको श्रद्धाञ्जली मात्र थिएन । यो एउटा सन्देश थियो ,देश बदल्ने सपना देख्ने नेताहरूको विरासतलाई पछ्याउने प्रतिबद्धताको पुनः स्मरण।
जननेता मदन भण्डारी र संगठक जीवराज आश्रितको योगदानलाई स्मरण गर्न आयोजित कार्यक्रममा नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पार्टीका शीर्ष नेताहरू उपस्थित थिए। उनीहरूले केवल सालिकमा फूल चढाएनन्, भण्डारीको ’जनताको बहुदलीय जनवाद’ को विचारलाई फेरि एकपटक मनन् गरे।
बल्खुको त्यो बिहान भावुक मात्रै थिएन, राजनीतिक दृष्टिमा महत्वपूर्ण पनि थियो। यो कार्यक्रममा नेताहरूको उपस्थितिले वर्तमान राजनीति र नेतृत्वका मूल्यहरूबारे पनि प्रश्न उठायो — के हामी अझै मदन–आश्रितले देखाएको बाटोमै छौं?
देशभरि आयोजित कार्यक्रमहरूले स्मृतिको घेराभित्र केवल व्यक्तिलाई होइन, विचारलाई पनि जीवन्त राख्ने प्रयत्न गरिरहेका छन्। विशेषगरी युवापुस्ताले आजको दिनलाई एक प्रेरणाको दिनका रूपमा हेरे, जहाँ इतिहासलाई सम्झने मात्र होइन, त्यो इतिहासबाट सिक्ने प्रयास भइरहेको छ।
बल्खु आज फेरि एकपटक एउटा आदर्शको स्थल बन्यो ,जहाँ नेताको सम्झना श्रद्धाञ्जलीमा सीमित नभएर, परिवर्तनको प्रेरणामा रूपान्तरण हुन खोज्दै छ।
२०८२ जेष्ठ ३, शनिबार