कैलाली : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी वैशाख १७ गते अप्रत्याशित रूपमा पक्राउ परेपछि राजनीतिक भुइँचालो जस्तै हलचल सिर्जना भयो। सोही दिन जनमत पार्टीसँगको पार्टी एकताको घोषणा हुने भनिएको थियो। तर रेशमको गिरफ्तारीले त्यो प्रयास अस्थायी रूपमा टर्दै मात्र रहेन, घटनाले पार्टीभित्र गहिरो विश्वासको संकट पनि उत्पन्न गरायो।
सबैभन्दा चर्चाको केन्द्रमा रहिन्, पार्टी अध्यक्ष तथा रेशम चौधरीकी जीवनसाथी रञ्जिता श्रेष्ठ। चौधरी पक्राउ परेपछि सामाजिक सञ्जालदेखि राजनीतिक गल्लीसम्म एउटै आवाज गुन्जियो—”के रञ्जिता स्वयं यस घटनाको सूत्रधार त होइनन्?”
स्पष्टोक्ति किन आवश्यक भयो?
राजनीतिक जीवन र व्यक्तिगत सम्बन्ध एकै डोरिले गाँसिएका बेला, एउटा घटनाले दुवै क्षेत्रमा प्रश्नचिन्ह खडा गर्न सक्छ। यस्तै भयो रञ्जितासँग।
रेशम रञ्जिताको २७ वर्ष लामो वैवाहिक सम्बन्ध छ। तर जब रेशम पक्राउ परे, कतिपयले शंका गर्न थाले—”के यो गिरफ्तारी पार्टी एकता टार्न गरिएको चाल हो? के राजनीतिक शक्ति सन्तुलनमा रञ्जिता स्वयं संलग्न छन्?”
यही शंकाको घेरालाई चिर्दै, रञ्जिताले अस्पतालको शय्याबाटै गहिरो र भावुक स्पष्टोक्ति दिइन्। उनले भनिन्,
- “उहाँ मेरो श्रीमान् हुनुहुन्छ। यस्तो सम्बन्ध भएको व्यक्तिले उहाँको गिरफ्तारीको षड्यन्त्र गर्छ भन्नु आफैँमा हास्यास्पद र पीडादायी हो।”
स्पष्टोक्तिले उनको राजनीतिक हैसियतभन्दा बढी पत्नीको निष्ठा प्रमाणित गर्ने प्रयास देखिन्छ। यस्तो भावनात्मक, तर तथ्यमा आधारित अभिव्यक्ति यसैले दिइयो कि उनले यो मुद्दा व्यक्तिगत अपमानको रूपमा लिइन्।
अस्पताको शय्याबाटै वक्तव्य किन?
प्रश्न उठ्छ—के साँच्चै स्वास्थ्य अवस्था यति जटिल थियो कि अस्पतालबाटै सार्वजनिक अभिव्यक्ति दिन जरुरी भयो? कि त्यो वक्तव्य समयमै नआए, ‘दोषीको मौनता’ प्रमाण मानिने डर थियो?
रञ्जिताले स्वयं अस्पतालमै रहँदा प्रधानमन्त्री, गृहमन्त्री र महान्यायाधिवक्तासँग रेशम चौधरीको रिहाइका लागि पहल गरेको दाबी गर्छिन्। यसले उनी शारीरिक रूपमा कमजोर भए पनि राजनीतिक रूपमा सक्रिय थिइन् भन्ने देखाउँछ।
त्यसैले अस्पताबाटै अभिव्यक्ति दिनुको पछाडि रहेको कारण मात्र भावनात्मक पीडा होइन, राजनीतिक दबाव, सामाजिक प्रताडना र वैवाहिक निष्ठामा उठेका प्रश्नको तात्कालिक र प्रत्यक्ष खण्डन गर्ने अपरिहार्यता थियो। के समय चुकिएको भए, आरोपले जरा गाड्न सक्थ्यो?
अबको सम्बन्ध– व्यक्तिगत र राजनीतिक?
रञ्जिताको भनाइ अनुसार, “रेशम चौधरीज्यूप्रति मेरो निष्ठा, सम्मान र प्रेम अटुट छ।”
तर बाहिरी जगतको प्रश्न भने स्पष्ट छ—के राजनीतिक शक्ति सन्तुलनको यो खेलले वैवाहिक सम्बन्धमा दरार ल्याएको त होइन?
अहिलेको परिस्थिति हेर्दा, सार्वजनिक रूपमा एउटै लक्ष्यका लागि संगठित छन्—नयाँ ‘नागरिक जनमत’ नामको शक्ति निर्माण। तर राजनीतिक नेतृत्वमा शक्ति बाँडफाँट, अध्यक्षबाट सह–अध्यक्ष बन्नुपर्ने अवस्थाले रञ्जिताको पार्टीभित्र विश्वासको संकटले वैवाहिक सम्बन्धमा पनि सूक्ष्म असर पारेको संकेत दिन्छ।
रेशम चौधरीको गिरफ्तारीले पार्टी एकता मात्र होइन, रञ्जिता श्रेष्ठको सामाजिक प्रतिष्ठा, राजनीतिक भविष्य र वैवाहिक स्थायित्वमा पनि ठूलो कम्पन उत्पन्न गराएको छ।
उनको अस्पतालबाटै दिइएको स्पष्टोक्ति केवल स्पष्टीकरण मात्र होइन, निष्ठाको पुनर्स्थापना र चरित्र हत्याविरुद्धको खुला प्रतिरोध पनि हो।
तर अब प्रश्न उभिएको छ—के समयले पुनः रेशम–रञ्जिता सम्बन्धलाई पुरानै विश्वासमा जोडिनेछन? कि यो घटनाक्रम रेशम-रन्जिता सम्बन्ध र राजनीतिक भविष्यको नयाँ मोड हो?
२०८२ बैशाख २२, सोमबार