कैलाली – नेपाल–भारत सीमा सुन तस्करीको ‘हब’ बन्दै गएको बेला, कैलालीको अत्तरियाबाट प्रहरीको जालमा एक व्यापारी फसेका छन्। भारतमा चोरी भएको सुन नेपाल ल्याएर बिक्री वितरण गर्ने सञ्जालसँगको सम्बन्ध खुलेपछि अत्तरियाका व्यवसायी ज्ञानेन्द्र खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय मालाखेतिको टोलीले उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएको छ। जिल्ला प्रहरीका निमित्त प्रमुख डीएसपी नवीनराज बुढाथोकीले पक्राउ पुष्टि गर्दै अनुसन्धान जारी रहेकाले विस्तृत विवरण रोकिएको जनाए।
यो प्रकरण भारत र नेपालबीचको सुन तस्करी नेटवर्कलाई नङ्ग्याउने सुरुआती खुड्किलोको रुपमा हेरिएको छ। प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख एसएसपी प्रकाश मल्लको नेतृत्वमा यो सञ्जाल भत्काउने योजना अघि बढाइएको छ। मल्लले खड्कासहितका केही व्यक्ति नियन्त्रणमा रहेको र धनगढीका दुईजना सुन व्यापारीलाई पनि अनुसन्धानमा लिइएको जानकारी दिएका छन्। यद्यपि ती व्यापारीहरूको नाम हाल गोप्य राखिएको छ।
प्रहरी स्रोतअनुसार यो गिरोह भारतमा चोरी भएको सुन नेपाल भित्र्याएर व्यवस्थित रूपमा कारोबारमा लगाउने योजनासहित काम गर्दै आएको थियो।
राष्ट्रिय सुरक्षासँग जोडिएको संवेदनशील विषय भएकाले अनुसन्धानलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको प्रहरीले जनाएको छ। तर प्रश्न उठ्दैछ — के भारत–नेपाल सीमाबाट हुने अवैध सुन कारोबारलाई रोक्न सुरक्षा संयन्त्रले अब गम्भीरता देखाउने हो?
२०८२ बैशाख २२, सोमबार