धनगढी – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमको विकास आफैंको नेतृत्वमा मात्र सम्भव भएको दाबी गरेका छन्।
मंगलबार धनगढीमा आयोजित “जनतासँग माओवादी: तराई–मधेस जागरण अभियान” अन्तरगतको अन्तरसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले गणतन्त्रपछि सुदूरपश्चिमको विकास तीव्र रूपमा अघि बढेको र त्यसमा आफ्नो विशेष भूमिका रहेको बताएका हुन्।
“जनयुद्धको समयमा पनि सुदूरपश्चिमले निर्णायक भूमिका खेलेको थियो, त्यसैले गणतन्त्र आएपछि मेरो ध्यान यही क्षेत्रमा केन्द्रित रह्यो,” उनले भने, “प्रधानमन्त्री हुँदा म सुदूरपश्चिममा सबैभन्दा बढी आएको छु, यो कुरा तथ्यले पनि पुष्टि गर्छ।”
उनले दोधारा–चाँदनी सुख्खा बन्दरगाह, पञ्चेश्वर परियोजना, कञ्चनपुरको पुनर्बासमा प्राविधिक कलेज, गेटामा प्रस्तावित स्वास्थ्य विज्ञान विश्वविद्यालय लगायत दर्जनौं परियोजना आफ्नो नेतृत्वमा अघि बढेको या सम्पन्न भएको उल्लेख गरे।
“हिजोका शासकले उपेक्षा गरेका क्षेत्रलाई मैले प्राथमिकतामा राखेँ,” उनले जोड दिए। “अब हाम्रो पार्टी जनताको आवाज सुनेर नीति बनाउने दिशामा छ।”
सामाजिक सञ्जालमा ‘सबै उस्तै’ भन्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै उनले भने, “राम्रा गर्ने र बिगार्नेबीच भेद हुनुपर्छ, सबैलाई एउटै तराजुमा राख्ने प्रवृत्ति न्यायसंगत होइन।”
कार्यक्रममा स्थानीय नागरिक, नेता, बुद्धिजीवी र युवाको उल्लेखनीय उपस्थिति थियो।
२०८२ बैशाख १६, मंगलबार