कैलाली — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको भजनी नगरपालिका–५ मा रहेका दुई अभिभावकविहीन तथा सहिद परिवारका बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन्।
तराई मधेस जागरण अभियान अन्तर्गत कैलाली पुगेका बेला भजनीस्थित कर्मेश्वर माध्यमिक विद्यालयमा आयोजित एक शैक्षिक कार्यक्रममा अध्यक्ष प्रचण्डले अल्पसंख्यक राजी समुदायकी कक्षा ३ मा अध्ययनरत निन्दु राजी र सहिद परिवारकी कक्षा १० मा अध्ययनरत अनिशा थरूनीको अभिभावकत्व ग्रहण गर्ने घोषणा गरे।
प्रचण्डको निजी सचिवालयले जनाएअनुसार, उनले ती बालबालिकाको शिक्षादेखि भविष्य निर्माणसम्मको सम्पूर्ण जिम्मेवारी आफू र पार्टीले वहन गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले अभिभावकविहीन तथा सहिद परिवारका बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्नु पार्टीको दायित्व भएको उल्लेख गर्दै सामाजिक न्याय र समानताको निम्ति माओवादी आन्दोलनले उठाएका सवाल अझै सान्दर्भिक रहेको धारणा राखे।
कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
२०८२ बैशाख १६, मंगलबार