टिकापुर : ‘जनतासँग माओवादी’ विशेष अभियानअन्तर्गत सुरु गरिएको तराई–मधेश हुलाकी मार्ग जागरण अभियान अन्तरगत नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित केन्द्रीय पदाधिकारी र सयौं नेताकार्यकर्ता आज बिहान कैलालीको टिकापुरमा आयोजित मर्निङ वाक कार्यक्रममा उत्साहपूर्वक सहभागी भएका छन्।
अभियान टोली टिकापुर पुगेपछि आयोजित यो मर्निङ वाकले स्वस्थ जीवनशैलीको प्रवर्द्धनसँगै संगठनभित्र नयाँ ऊर्जा भरेको छ। चिसो बिहानको वातावरणमा प्रचण्डको नेतृत्वमा गरिएको मर्निङ्गवाकले सहभागीहरूमा अतिरिक्त जोश र संकल्प थपेको छ। “स्वस्थ शरीर, बलियो संगठन” भन्ने नाराका साथ अघि बढाइएको वाक कार्यक्रमले नेता, कार्यकर्ता र सर्वसाधारणमा आशा र भरोसाको नयाँ तरंग सिर्जना गरेको देखिन्छ।
आजै अध्यक्ष टोलीले कैलालीका विभिन्न स्थानमा आयोजना हुने विविध कार्यक्रमहरूमा सहभागी भई जनसम्पर्क विस्तार गर्नेछ। आमसभा, संवाद र भेला कार्यक्रममार्फत पार्टीको एजेन्डा जनतामाझ पुर्याउने लक्ष्य लिइएको छ।
अभियान भोलि कञ्चनपुरमा भव्य समारोहसहित समापन गरिनेछ। हजारौं कार्यकर्ता र नागरिकको ऐतिहासिक सहभागितासँगै अभियानले संगठनलाई थप सबल, जनतासँग थप घनिष्ठ बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रमले सुदूरपश्चिमका नागरिकमा आशा र भरोसाको सन्देश फैलाएको छ भने कार्यकर्ताहरूमा संगठनप्रति थप प्रतिबद्धता र उत्साह सिर्जना गरेको छ।
२०८२ बैशाख १६, मंगलबार