काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कडा प्रहार गरेको छ। माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले ओलीलाई “निभ्दै गरेको बत्तीसँग” तुलना गर्दै प्रधानमन्त्री हतास, आक्रोशित र दिशाहीन अवस्थामा पुगेको आरोप लगाएका छन्।
बुधवार पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा सापकोटाले भने, “आफ्नो गुम्न लागेको साख परालको त्यान्द्रोले जोगाउन सकिन्छ कि भनेर प्रधानमन्त्री desperate effort मा लाग्नुभएको छ। उहाँ सबैसँग रिसाइरहनु भएको छ – आफ्नै पार्टी, कर्मचारी, नेताहरूसँग पनि। प्रधानमन्त्रीको यो व्यवहार हतास मानसिकताको उपज हो।”
सापकोटाले प्रधानमन्त्री ओली आफ्नै पार्टीका नेताहरूसँग समेत तिक्त सम्बन्ध बनाउँदै गालीगलौजमा उत्रिएकोप्रति चिन्ता व्यक्त गरे। “हिजो अरुलाई मात्रै गाली गर्नुहुन्थ्यो, आज आफ्नै पार्टीका नेताहरूमाथि पनि शब्दवाण प्रहार गर्दै हुनुहुन्छ। यस्तो व्यवहारले उहाँ निभ्दै गएको बत्ति जस्तो लाग्न थालेको छ,” उनले भने।
प्रधानमन्त्री नेतृत्वको वर्तमान सरकारलाई “असफल” र “नैतिकताविहीन” भन्दै सापकोटाले थपे, “यो गठबन्धन अप्राकृतिक र अपारदर्शी छ। देश र जनताको हितमा एकपटक पनि सकारात्मक हस्तक्षेप गर्न नसकेको यो सरकार अब एक दिन पनि सत्तामा रहने नैतिक अधिकार राख्दैन।”
२०८२ बैशाख १०, बुधबार