अत्रिदेव खबर/ असार ३१ : गौरीगङ्गाको एक निजी विद्यालयले नगरपालिकाको सिस्टममा छेडखानी गरी हुँदै नभएको विद्यार्थीको नतिजा निर्माण गरेको सूचना प्राप्त भएको छ ।
गौरीगङ्गा नगरपालिका-७ स्थित कुमुदिनी विद्या मन्दिरले कक्षा ५ को विद्यार्थीको नतिजामा फेरबदल गरेको प्रमाणित भएपछि नगरपालिकाले ३ दिने स्पष्टीकरण सोधी कारबाही प्रक्रिया अघि बढाएको नगर प्रमुख देवीदत्त कँडेलले जानकारी दिए ।
पालिकाको सिस्टममा भएको छेडखानी र विद्यालय जस्तो पवित्र संस्थाको गलत क्रियाकलापले लज्जित बनाएको भन्दै नगर प्रमुख कँडेलले हदैसम्मको कारबाही गर्ने बताए ।
कुमुदिनीले पालिकाको परीक्षा प्रणाली सूत्रमा चलखेल र फेरबदल गरेको पालिकाका शिक्षा शाखामा कार्यरत विद्यालय निरीक्षक गणेश जोशीले स्वीकार गरे । विद्यालय निरीक्षक जोशीले अत्रिदेव खबर सँग कुरा गर्दै आफूहरूले पत्र काटिसकेको र कारबाही प्रक्रिया चरणमा रहेको बताए ।
यता विद्यालयका प्रिन्सिपल हेमराज अम्मैले इमाअएस सिस्टममा पुरानो डाटा अपडेट गर्न मिल्छ्की मिल्दैन भनेर सिस्टममा प्रवेश गरेको स्वीकार गरे । प्रिन्सिपल अम्मैले आफूहरूले चेक गर्दा त्यसो नहुने सङ्केत देखेपछि सिस्टमबाट आउट भएको जिकिर गरे । साथै प्रिन्सिपल अम्मैले आफूहरूको गतिविधिलाई आधार मानेर नगरपालिकाले स्पष्टीकरण सोधेको र आफूले स्पष्टीकरण पेस गर्ने बताए ।