राप्तीले बगाएका दुई जनाको शव फेला


अत्रीदेव खबर / असार २३ : राप्ती नदीले बगाएका दुबै जना बेपत्ता पुरूषको शव आइतबार बिहान फेला परेको छ।

आइतबार बिहान लमही नगरपालिका–८ बग्रापुरस्थित नयाँ बस्तिका ६२ वर्षीय मनिराम चौधरी र राजपुर गाउँपालिका–२ का १९ वर्षीय राजकुमार यादवको शव फेला परेको हो। 

शनिबार दिउँसो साढे १२ बजेतिर चौधरी बेपत्ता भएका थिए। उनको शव बगाएको स्थानभन्दा पाँच सय मिटर दक्षिणमा फेला परेको हो।

इलाका प्रहरी कार्याल अमेलियाका प्रमुख प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठका अनुसार यादव शनिबार बिहान लमहीमा दूध बेच्न हिँडेका थिए। घर फर्किनेक्रममा लमही-७ हस्नापुर नजिकैबाट राप्ती नदी तर्दै गर्दा बाढीले बगाएको थियो। 

उनलाई बगाएको स्थानबाट झण्डै डेढ सय मिटर पश्चिममा शव फेला परेको प्रहरी निरीक्षक श्रेष्ठले बताए। 
राजपुरकै अरु थप दुई जनाको भने उद्धार भएको थियो। उनीहरू पनि दूध बेचेर घर तर्फ फर्किँदै थिए। उनीहरुले रुखमा चढेर गुहार मागेपछि सशस्त्र प्रहरी रबर बोटसहित पुगेर उनीहरूको उद्धार गरेको थियो।

शनिबार नै जिल्लाकै राजपुर गाउँपालिका–५ सालभौडीस्थित गंगदी खोलामा आएको बाढीले ट्रयाक्टर बगाउँदा स्थानीय छेदुराम चौधरीको मृत्यु भएको थियो। खोलामा आएको बाढी कम भएपछि दिउँसो ट्रयाक्टर निकाल्ने क्रममा चौधरीको शव ट्याक्टरले च्यापिएको अवस्थामा फेला परेको थियो। त्यसअघि उनलाई बाढीले बगाएको आशंकामा खोजी गरिएको थियो।

खोलाको बाढीले ट्याक्टर बगाउँदा थप दुई युवा सामान्य घाइते भएका थिए।

सम्बन्धित समाचार