रवि लामिछानेको ठाडो आदेशमा स्पष्टीकरण दर्ता गर्न नदिएको मुकुल ढकालको आरोप


अत्रीदेव खबर / असार २१ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेको ठाडो आदेशमा आफूलाई स्पष्टीकरण दर्ता गर्न नदिइएको आरोप लगाएका छन् । समीक्षा प्रतिवेदनको आधारमा १९ असारमा केन्द्रीय समितिमा प्रस्तुत गर्न खोजेको ६ पृष्ठको प्रस्तावमा आफूले स्पष्टीकरणसमेत दिएको उनको भनाइ छ । यद्यपि, उक्त पत्रलाई त्यो दिन प्रतिवेदनजसरी पढेर सुनाइएको उनले बताए । 

‘अघिल्लो शुक्रबार अनुशासन आयोगले उनलाई स्पष्टीकरण सोधेको थियो । प्रस्टीकरण दिने समय आज सकिँदैछ । मैले स्पष्टीकरण १९ गते नै बुझाएको हो र दर्ता गर्न आग्रह गर्दा गर्दै दर्ता गर्न इन्कार गरियो । स्पष्टीकरण दर्ता गर्न नदिएपछि , कसरी स्पष्टीकरण दिनु ?’, उनले प्रश्न गरे । 

‘त्यसरी नै सुनाइदिन आग्रह गर्दा, सुनाइएन । त्यसपछि दर्ताका लागि आग्रह गरेँ, सभापतिले दर्ता नगर्नू भनेर ठाडो आदेश दिनुभयो’, उनले भने, ‘बैठक सकिएपछि, त्यस पत्रलाई अनुशासन आयोगलाई समेत बोधार्थ राखी दर्ता गराइदिन पार्टी कार्यालयलाई सम्पर्क गरेँ र हुन्छ भनेर जवाफ आयो । तर आज मलाई, सभापतिको आदेशबमोजिम त्यस पत्रलाई दर्ता नगर्ने भनियो ।’ 

स्पष्टीकरणलाई दर्ता नै गर्न नदिएर स्पष्टीकरण दिएन भन्ने भाष्य सिर्जना गर्न खोजिएको आरोप ढकालले लगाएका छन् ।  

राजनीतिक दलसम्बन्धीको ऐनले स्पष्टीकरणको मौका नदिई कारबाही गर्न नदिने ढकालको तर्क छ । तर, राज्यको प्रचलित कानुनविपरीत आफूलाई निलम्बन गरिएको गुनासो उनले गरे । उपसभापतिलाई निलम्बन गर्ने अधिकार नभएको र त्यस्तो अधिकार सभापतिबाट प्रत्यायोजन हुनपर्नेमा त्यस्तो अधिकार प्रत्यायोजनका पत्र पनि सभापतिबाट प्राप्त नभएको ढकालले बताए । 
तथापि , राजनीतिक विषयमा यसरी विधि पद्दति धेरै केलाउनको साटो, राजनीतिक कारबाही अनुरूप लिएको छु, उनले भने, विधि पद्धति र लोकतान्त्रिक मूल्य मान्यताअनुसार मलाई गरिएको निलम्बनको प्रक्रिया मिलेको छैन । स्पष्टीकरणको जवाफ नै नपढी कारबाही गरिनु दूराशयपूर्ण छ, अलोकतान्त्रिक छ ।

सम्बन्धित समाचार