+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रास्वपाको तयारी महामन्त्रीमा ढकाल आउट परियार इन

अत्रिदेव खबर
१० महिना अगाडी

 
अत्रीदेव खबर/असार १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकाललाई पदबाट हटाउने निश्चित भएको छ।
बुधबार बिहान ८ बजेदेखि पार्टी कार्यालय बनस्थलीमा जारी केन्द्रीय समितिको बैठकले सम्भवत ढकाललाई महामन्त्रीको जिम्मेवारीबाट हटाउने छ।

त्यसैको तयारीस्वरूप सभापति रवि लामिछानेले महामन्त्रीका रूपमा बैठकमा ढकाललाई बैठकका एजेण्डासमेत पेश गर्नबाट बञ्चित गरेका छन्।

ढकालले ३८ जिल्ला पुगेर तयार पारेको पार्टीको स्थितिबारेको समीक्षा प्रतिवेदनमा पार्टी सही ढंगले अघि बढ्न नसकेको र यही स्थितिमा अघि बढे आउँदो चुनावसम्म दुई तीन सिटमा सीमित हुने उल्लेख गरेका छन्।

उनले पार्टीमा लामिछानेको कार्यशैली र उनीमाथि लागेका आरोपका कारण पार्टीले क्षति व्यहोरी रहेको उल्लेख गरेका छन्। बुधबारको केन्द्रीय समितिमा ढकालले पेश गर्न लागेको प्रतिवेदनमा पार्टीलाई रविको पार्टी बाट मुक्त गरेर  ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ बनाउनुपर्ने उल्लेख गरिएको छ।

प्रस्तावसमेत पेश गर्न नदिएपछि ढकालले बैठकमै मुखमा कालोपट्टी लगाएर बिरोध जनाएका छन्। तीन वर्षअघि पार्टी स्थापना गर्दा ढकाल लामिछानेको मुख्य कमाण्डरका रूपमा रहेका थिए। तर, पार्टीले एकाएक संसदीय चुनावमा सफलता पाएर सभापति लामिछाने आफै सत्तामा जान अग्रसर भए। त्यसपछि क्रमश: उनीहरूबीच मतभेद बढेको थियो।

गत वैशाखमा इलाम- २ मा भएको उपचुनावपछि सभापति र महामन्त्रीको मतभेद सतहमै देखिन थालेको रास्वपाका नेताहरू बताउँछन्। इलाममा रास्वापाले पत्रकार मिलन लिम्बूलाई टिकट दिँदा महामन्त्री ढकालले विरोध जनाएका थिए। उनले लिम्बूबाट इलाममा परिणाम नआउने दाबी गरेका थिए।

चुनाव प्रचारमा केन्द्रीय नेताहरू भीड लागेको भन्दै ढकालले असहमति जनाएका थिए। आखिर ठूलो चर्चाबीच जमानतसमेत जोगाउन नसक्ने गरी रास्वपाको उम्मेदवार लिम्बू पराजित भए।

लामिछाने नागरिकता, पासपोर्ट, सहकारी ठगी जस्ता प्रकरणमा मुछिएको सार्वजनिक हुँदै गएपछि वैकल्पिक राजनीतिको नारा दिएर उठाएको रास्वपालाई गम्भीर असर परेको ढकालको प्रतिवेदनमै उल्लेख छ। लामिछानेको वेप्रवाह बोली पनि पार्टीका लागि घातक बनेको ढकालले औंल्याएका छन्।

पार्टीका सीमित नेतालाई काखी च्यापेर अघि बढेको गुनासो ढकालले पार्टी पहिल्यैदेखि गर्दै आएका थिए। तर, ३८ जिल्ला पुगेर प्रतिवेदन तयार पारेपछि दुईबीचको तिक्तता सतहमा मात्रै पोखिएन, बुधबारको बैठकसम्म आइपुग्दा ढकालले लामिछानेविरुद्ध ‘विद्रोह’ नै गरेका छन्।

रास्वपा स्रोतका अनुसार ढकाललाई जारी केन्द्रीय समितिको बैठकले नै महामन्त्रीबाट हटाउने छ । त्यसपछि कसलाई उक्त जिम्मेवारी दिने भन्ने करिब टुंगो लागिसकेको छ।

मंगलबार साँझ गृहमन्त्रालयमा बसेको सभापति लामिछानेसहितका केही नेताहरूको बैठकले ढकाललाई तत्कालै जिम्मेवारी मुक्त गरेर अघि बढ्ने योजना बनाएका छन्।

उक्त बैठकमा लामिछानेसहित उपसभापति स्वर्णिम वाग्ले, प्रमुख सन्तोष परियार, सहमहामन्त्रीहरू सुमना श्रेष्ठ र कवीन्द्र बुर्लाकोटी सहभागी थिए। त्यहीं बैठकको योजनाअनुसार महामन्त्री ढकाललाई बैठकको एजेण्डा पेश गर्ने अधिकारबाट नै सभापति लामिछानेले बञ्चित गरेका हुन्।

विश्वस्त स्रोतले बताएअनुसार अब महामन्त्रीको जिम्मेवारी परियार दिइने भएको छ। महामन्त्रीमा सहमहामन्त्रीहरू श्रेष्ठ र बुर्लाकोटी पनि इच्छुक भएपनि संगठनात्मक काममा गरेका परियारलाई संसदीय कामबाट पार्टी कामको जिम्मेवारी दिने ‘कोर टिम’को निर्णय छ। उक्त निर्णयलाई केन्द्रीय समिति बैठकले अनुमोदन गर्नेछ। परियार एमाले अखिलको राजनीतिबाट आएका नेता हुन्।

त्यस्तै, परियार महामन्त्री बनेपछि प्रमुख सचेतकमा सोविता गौतमलाई जिम्मेवारी दिइने भएको छ। काठमाडौं- २ बाट निर्वाचित गौतमसँग सभापति लामिछानेको लाइन नमिल्दा अन्य अवसरको पदबाट बञ्चित हुँदै आएकी थिइन्। अब उनलाई प्रमुख सचेतकको जिम्मेवारी दिइने पक्का भएको रास्वपाका एक नेताले जानकारी दिए।

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ