काठमाडौं । आईसीसी टी-२० विश्वकपमा दक्षिण अफ्रिकाले लगातार तेस्रो जित हात पारेको छ । गएराति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले बंगलादेशमाथि ४ रनको रोमाञ्चक जित हात पारेको हो ।
नासाउ काउन्टी क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १३ रन बनाएको थियो । उसले पावरप्लेमा २५ रन बनाउँदा शीर्ष ४ विकेट गुमाइसकेको थियो । क्विन्टन डी ककले १८ र एडेन मार्करामले ४ रन बनाए । रिजा हेन्ड्रिक्स र ट्रिस्टन स्टब्स शून्य रनमा आउट भए । हेनरिक क्लासेनले डेभिड मिलरसँग ५ औं विकेटका लागि ७९ बलमा ७९ रनको साझेदारी गरे । क्लासेनले ४४ बलमा ४६ रन बनाए । मिलरले २९ रनको योगदान दिए । बंगलादेशका तनजित हसन शकिबले ३ र तस्किन अहमदले २ विकेट लिए ।
१ सय १४ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९ रन मात्र बनाउन सक्यो ।
सुस्त सुरुवात गरेको बंगलादेशले पावरप्लेमा एक विकेट गुमाएर २९ रन बनाएको थियो । ५० रन जोड्दा ४ विकेट गुमाइसकेको बंगलादेशका लागि तौहिद हृदोय र महमुदुल्लाहले ४५ बलमा ४४ रनको साझेदारी गरे पनि टोलीलाई जित दिलाउन सकेनन् । दक्षिण अफ्रिकाका लेग स्पिनर केशव महाराज यो जितको नायक बने । उनले अन्तिम ओभरमा ११ रन बचाए । यो ओभरमा महाराजले २ विकेट पनि लिए । कागिसो रबाडा र एनरिक नोर्टयाले २/२ विकेट लिए ।
यो जितसँगै दक्षिण अफ्रिका सुपर ८ नजिक पुगेको छ । समूह डीको शीर्ष स्थानमा रहेको उसको २ खेलमा ६ अंक छ । १ हार र १ जितसहित बंगलादेश २ अंक जोडेर दोस्रो स्थानमा छ ।