सुखड । कैलालीको घोडाघोडी नगपालिका–१ सुखडमा दोस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८० हुने भएको छ । स्थानीय स्तरमा खेलकुदको पहुँच अभिवृद्धि गर्ने र खेल क्षेत्रमा युवा वर्गको स्फूर्ति बढाउनुको लागी दोस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता हुन लागेको हो । वडा अध्यक्ष कप सञ्चालक समितिको आयोजना तथा वडा नम्बर १ को आर्थिक सहयोगमा प्रतियोगिता हुन लागेको हो । यही चैत्र १० गते देखी प्रतियोगिता सञ्चालन हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
प्रतियोगितामा वडा न १ भित्र पर्ने टोलहरू तथा युवा क्लबहरूको टिम सहभागिता रहने वडा अध्यक्ष कप सञ्चालक समितिका अध्यक्ष वीरेन्द्र शाहीले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । प्रतियोगितामा पहिलो हुने टिमले ३० हजार नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने दोस्रो स्थान हासिल गर्ने टिमले नगद १५ हजार सहित ट्रली ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने जानकारी गराए ।
साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपरलाई पुरस्कारको व्यवस्था समेत रहेको वीरेन्द्र शाहीले जानकारी दिए । चैत्र १० गते बाट चल्ने प्रतियोगिताका खेलहरू नकआउटका आधारमा खेलाइने वडा अध्यक्ष कप सञ्चालक समितिका सचिव धर्मेन्द्र विष्टले बताए । यस्ता खेलहरूले युवा वर्गको स्फूर्ति बढ्नुका साथै मनोरञ्जन पनि हुने उनको धारण रहेको थियो ।
लागू औषध न्यूनीकरणमा जोड तथा युवा,बालबालिका लाई खेलकुदको माध्यम बाट देश विदेश सम्म चिनाउने सोचका साथ प्रतियोगिता सञ्चालन हुन लागेको उनले जानकारी दिए । यसैबिच प्रतियोगिताको तयारीलाई तीव्र पारेको उनले बताए । पत्रकार सम्मेलनमा घोडाघोडी क्लबले दुई थान फुटबल वडा अध्यक्ष कप सञ्चालक समितिलाई हस्तान्तरण समेत गरेको छ ।
प्रतियोगितामा सहभागिताका लागि इच्छुक सबै टोल तथा युवा क्लबहरूले चैत्र ९ गते सम्ममा टिम दर्ता गर्न समितिले आग्रह गरेको छ । टिम दर्ता निःशुल्क रहेको र खेल बेलारमा रहेको लाली गुराँस युवा क्लबको खेल मैदानमा खेलाइने बताइएको छ ।
२०८० चैत्र ७, बुधबार