जङ्गलमा करेन्ट लाग्दा एक जनाको मृत्यु, एक घाइते

पहलमानपुर :  कैलालीमा  जङ्गलमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । घोडाघोडी नगरपालिका वडा नम्बर १० स्थित तुलसीपुर सामुदायिक वनमा करेन्ट  लागेर सोही  ठाउँका  सिकारी धनबहादुर शाहको मृत्यु भएको इलाका प्रहरी कार्यालय  सुखडले जनाएको छ । जङ्गलमा सिकार गर्न गएको अवस्थामा ४० वर्षीया शाहको करेन्ट लागेको हुनसक्ने बताइएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका शाहलाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएपछि चेकजाँचका क्रममा डाक्टरले उहाँलाई मृत घोषणा गरेका थिए । करेन्ट लागेर मोहन्याल गाउँपालिका वडा नम्बर ३ बस्ने ३६ वर्षीय दुर्गा खत्री घाइते हुनुभएको छ  । खत्रीलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको छ ।

आफू अहिले पनि घटनास्थलमा रहेको र घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी वीरेन्द्र विश्वकर्माले बताउनुभयो । दुई बर्स पहिले सोही सामुदायिक वन नजिकै रहेको झिरौखामा पासोमा परेर चितुवा मरेको  सब डिभिजन बन कार्यालय सुखडले जनाएको छ । 

जङ्गलमा कुन ठाउँबाट कुन प्रयोजनका लागि बिजुली लगिएको भन्ने कुरा थाहा नभएको विधुत कार्यालय पहलमानपुरका प्रमुख लोकविक्रम मल्लले बताउनुभयो ।

सम्बन्धित समाचार