बर्दगोरियाले नाप्यो करिब १० हजार कित्ता, लालपुर्जा वितरणको तयारी

बौनिया : भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी पुर्जा वितरण गर्न कैलालीको बर्दगोरिया गाउँपालिकाले करिब १० हजार कित्ता नाप जाँच गरेको छ । आफ्ना ६ वडा मध्ये ५ वडामा नाप जाँच सम्पन्न गरिसकेको पालिकाले ९ हजार ७ सय ६६ कित्ता नापेको हो । वडा नम्बर ४ मा नाप जाँचको काम जारी छ । 

पालिकाले वडा नम्बर १ मा अव्यवस्थित बसोबासीको २ हजार ८ सय १५ कित्ता र भूमिहीन दलितको १० कित्ता नाप जाँच गरेको छ । वडा नम्बर २ मा अव्यवस्थित बसोबासीको १ हजार ७ सय १६ कित्ता, भूमिहीन सुकुम्वासीको ५० कित्ता र भूमिहीन दलितको ९ कित्ता नापेको पालिकाले वडा नम्बर ३ मा अव्यवस्थित बसोबासीको ३ हजार २१, भूमिहीन सुकुम्वासीको ९ र भूमिहीन दलितको २० कित्ता नापेको छ । 

यस्तै वडा नम्बर ५ मा अव्यवस्थित बसोबासीको १ हजार ३ सय ९१ कित्ता, भूमिहीन सुकुम्वासीको ६ कित्ता र भूमिहीन दलितको ३ कित्ता तथा वडा नम्बर ६ मा अव्यवस्थित बसोबासीको ६ सय ९० कित्ता, भूमिहीन सुकुम्वासीको २४ कित्ता र भूमिहीन दलितको २ कित्ता नाप जाँच गरेको राष्ट्रिय भूमि आयोग स्थानीय सेवा केन्द्र नाप नक्सा शाखा बर्दगोरियाका प्रमुख टङ्कबहादुर आचार्यले जानकारी दिए । 

उनका अनुसार वडा नम्बर ३ का ६ जना भूमिहीन सुकुम्वासीलाई यस अघि नै लालपुर्जा वितरण गरिसकेको छ भने सोही वडाका ७ जना भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरणको प्रक्रियामा छन् । 

पालिकामा ६ हजार ५ सय ६६ वटा अव्यवस्थित बसोबासी फारम, २ सय ३३ वटा भूमिहीन सुकुम्वासी फारम र १ सय ६६ वटा भूमिहीन दलित फारम गरि कुल ६ हजार ९ सय ३२ वटा फारम सङ्कलन भएका थिए । बाकी रहेको वडा नम्बर ४ मा जग्गा नाप जाँच सकिने बित्तिकै लालपुर्जा वितरण गर्ने गाउँपालिकाको तयारी छ । 

सम्बन्धित समाचार