+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सत्ता गठबन्धनको निष्कर्ष : एनसेल बिक्री शंकास्पद

अत्रिदेव खबर
२०८० मंसिर १९, मंगलबार

काठमाडौं : सत्तारुढ गठबन्धनले एनसेलको शेयर खरिद बिक्री शंकास्पद भएको निष्कर्ष निकालेको छ, र गम्भीरतापूर्वक छानबिन गर्न सरकारलाई आग्रह गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुख्य सचिव र सचिवहरुलाई राखेर सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरेका थिए । मंगलबार बालुवाटारमा बसेको बैठकमा नेताहरुले एनसेलको सेयर खरिद बिक्रीलाई गम्भीर रुपमा लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई समर्थन गरेका छन् ।

एनसेलको सेयर खरिद बिक्री शंकास्पद भएकाले तत्काल छानबिन गर्न सरकारलाई आग्रह गरेको छ ।

‘एनसेनको सेयर खरिद बिक्रीबारे जे जति प्रश्नहरु उठेका छन्, ती गम्भीर छन्, जायज छन्’, बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सञ्चारकर्मीहरुसँग भने, ‘यसबारे सरकारले तत्काल छानबिन गर्नुपर्छ, सुक्षम ढंगले अध्ययन गर्नुपर्छ भन्ने निष्कर्षमा शीर्ष नेताहरुको बैठक पुगेको छ ।’

नेपालको कानुन बमोजिम गर्नुपर्ने सबै प्रक्रिया पूरा गर्नुपर्ने भन्दै बैठकले नेपालको कानुन र हित विपरीत भएका कामहरुलाई सरकारले रोक्नुपर्ने निष्कर्ष निकालेको छ ।

नेपाल सरकारका सम्बन्धित निकायले गम्भीरतापूर्वक लिएर छानबिन गर्ने भन्दै प्रमुख सचेतक लेखकले भने, ‘यसमा मन्त्रिपरिषद्ले पनि आवश्यक निर्णय गर्छ । देशको हित र कानुन बमोजिम गर्नुपर्ने सबै काम सरकारले गर्छ ।’

मलेसियाको कम्पनी आजियटाले एनसेलको सेयर स्वामित्व गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पमी स्पेक्ट्रलाइटलाई बिक्री गरेको छ । नेपाल सरकारको निकायलाई खबर नगरी खरिद बिक्री गरेको भन्दै उक्त कारोबारमाथि प्रश्न उठेका बेला प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनको बैठक राखेर छलफल गरेका हुन् ।

२०८० मंसिर १९, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८० मंसिर १९, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ