फुर्पाले गल्ती स्वीकार्दै मिरूनासँग माफी मागेपछि दुबैबीच मिलापत्र

कबड्डी-४ की अभिनेत्री मिरूना मगरमाथि भएको अभद्र व्यवहारको घटनामा दुई पक्षबीच मिलापत्र भएको छ।

मंगलबार मिरूना मगर र आरोपित मुगुका फुर्पा तामाङ पक्षबीच छलफल भएको थियो।

छलफलपछि आरोपित फुर्पा तामाङले गल्ती स्वीकार गर्दै अभिनेत्रीसमक्ष माफी मागेका थिए।

त्यस्तै अभिनेत्री मगरले पनि उनलाई भाइ सम्झेर माफी दिएको सार्वजनिक भएको पत्रमा उल्लेख छ।

आइतबार कबड्डी-४ फिल्म प्रमोशनको लागि मिरूना मगर लगायतको टोली सिभिल मल पुगेका थिए। त्यही बेला फ्यानहरूसँग फोटो खिचाउने क्रममा फुर्पाले अभद्र व्यवहार गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।

‘अभिनेत्री मिरूना मगरमाथि भएको अभद्र व्यवहारसम्बन्धी घटनामा मुगु स्थायी घर भएका फुर्पा तामाङले गल्ती स्वीकार गरी अभिनेत्री मगरसमक्ष माफी मागेको र अभिनेत्री मगरले पनि भाइ सम्झेर माफी गरेकी छिन्,’ मिलापत्रमा उल्लेख छ।

यस्तै अभिनेत्री मगरले पनि कुनै जाति, धर्म, सम्प्रदायप्रति असर पुग्ने आसयले कुनै कार्य नगरेको प्रष्ट्याएकी छन्।

उनले कुनै समुदायमाथि असर पुगेको भन्दै माफी समेत मागेकी छन्।

‘उक्त परिस्थितिमा आकस्मिक प्रतिक्रिया जनाउने क्रममा घटित हुन गएको घटनाबाट सिंगो बौद्ध धर्मावलम्बी, भिक्षु लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमा याचना गरेकी छिन्,’ पत्रमा लेखिएको छ।

आइतबार पक्राउ परेका तामाङ मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशपछि धरौटीमा रिहा भएका थिए। तामाङ ३ हजार धरौटी तिरेर रिहा भएका थिए।

अभिनेत्री मिरूना मगरले भिक्षुमाथि झुटो आरोप लगाएर थप्पड हिर्काएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो। मंगलबार बिहानै चाबहिलस्थित केएल टावरमा पुगेर युवाहरूले प्रदर्शन समेत गरेका थिए।

 

सम्बन्धित समाचार