काठमाडौं : अमेरिकाले डिपोर्ट गरेका ३७ जना नेपाली नागरिक बोकेको एक चार्टर्ड विमान आइतबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेले डिपोर्ट गरिएका व्यक्तिहरूलाई अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौं पठाएको जानकारी दिए।
न्यौपानेका अनुसार अमेरिकाले डिपोर्ट गर्नेबारे दूतावासमार्फत एक हप्ताअगाडि नै जानकारी गराइसकेको थियो। विमानस्थलमा अवतरण गरेपछि अध्यागमन कार्यालयले डिपोर्ट भई आएका नेपालीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाएको छ।
ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले डिपोर्ट भई आएका व्यक्तिहरूसँग सामान्य सोधपुछ गरिने बताए। सोधपुछको मुख्य उद्देश्य उनीहरू कसरी अमेरिका पुगे, र उनीहरू दलालबाट ठगिएका पीडित हुन् वा होइनन् भन्ने पत्ता लगाउनु रहेको उनले जानकारी दिए।
एसपी कुँवरका अनुसार, यदि फर्केका व्यक्तिहरूले आफू दलालबाट ठगिएको भन्दै उजुरी दिएमा ब्युरोले त्यस्ता दलालहरूविरुद्ध थप अनुसन्धान अगाडि बढाउनेछ। यस अनुसन्धानले मानव बेचबिखनमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन मद्दत पुग्ने विश्वास गरिएको छ।
२०८२ जेष्ठ २५, आईतबार