काठमाडौं : प्रहरीले अनलाइन जुवा (सट्टेबाजी) मा संलग्न एउटा ठूलो गिरोहलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको जैनखेल र नख्खुस्थित दुई स्थानमा छापा मारेर पाँच जना भारतीय र १२ जना नेपाली नागरिकसहित कुल १७ जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, यो गिरोहले विभिन्न देशका व्यक्तिहरूलाई वाट्सएप र टेलिग्राममार्फत सम्पर्कमा ल्याई 711Bat.club र Unicon 365 जस्ता अनलाइन बेटिङ साइटको प्रयोग गरी व्यावसायिक रूपमा जुवा खेलाउने कार्यमा संलग्न रहेको थियो। नख्खुस्थित सनराइज अपार्टमेन्टको फ्ल्याट भाडामा लिएर सट्टेबाजी खेलाउने गरेको पाइएको एसपी काजीकुमार आचार्यले जानकारी दिए।
पक्राउ पर्ने १२ जना नेपाली नागरिकहरूमा ठक्कर कुँवर, तिलक खड्का, जितबहादुर महतो, राजेन्द्र ब. महता (कञ्चनपुर), सुवाश खड्का (डोटी), विकास थापा, डायमण्ड कुँवर, मनोज बोगटी (अछाम), अरविन खड्का (कैलाली), हर्कबहादुर खड्का (डोटी), पूर्ण दर्लामी (रुपन्देही) र विष्णु कुमार राउत (दाङ) लगायतका रहेका छन्। त्यस्तै, पक्राउ पर्ने पाँच जना भारतीय नागरिकहरू बिहारका दीपक कुमार सिंह, ऋषमराज, अंकित कुमार सिंह, धिरज कुमार सिंह र मोहित कुमार सिंह रहेका छन्।
प्रारम्भिक अनुसन्धानबाट यो गिरोहले अनलाइन जुवामार्फत हालसम्म ८१ करोड ४७ लाख ५७ हजार ४४६ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको एसपी आचार्यले बताए। पक्राउ परेका व्यक्तिहरूबाट प्रहरीले १४ थान ल्यापटप, सिमकार्ड राखिएका वा नराखिएका ६० थान मोबाइल, विभिन्न बैंकका चेकबुक र पासबुक, विभिन्न व्यक्तिहरूको भिसा कार्ड र राहदानी बरामद गरेको छ। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
२०८२ जेष्ठ २०, मंगलबार